
नेपालगन्ज, ६ श्रावण – गोरखा जिल्लामा नेपाल शतक रक्तदाता÷रक्त सम्राट एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले श्रावण ५ गते १ सय ७९ औं पटक रक्तदान गर्नु भएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाज गोरखा जिल्ला शाखाको आयोजनामा गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर रानामगरको प्रमुख आतिथ्यमा सम्पन्न रक्तदान कार्यक्रममा रक्तदान गर्दै शतक रक्तदाता प्रेमसागर कर्माचार्यले पहिलेको तुलनामा आज स्वयंसेवी रक्तदाता बढे पनि विरामीको संख्या पनि बृद्धि हुँदै गई रहेको छ, अहिले देशभर रगत अभाव भएको भई रहेको बताउनुभयो ।

उहाँले भन्नु भयो “४५ केजी तौल भएका प्रत्येक स्वस्थ यूवाहरुले आफ्नो १८औं जन्मोत्सव सँगै मानव जीवन बचाउनका लागी रक्तदानमा लाग्न म आग्रह गर्दैछु । त्यसैले स्वयंसेवी रक्तदाताहरुले दानमा दिएको रगतको विरामीहरुले शुल्क तिर्नुपरेको छ यो कार्यलाई सरकारले सम्वोधन गर्नुपर्छ । हामीले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुभएको वेला सरकारलाई ध्यानाकर्षण गराएका थियौं तर त्यसमा कुनै सुनुवाई भएन हेरौं यो सरकारले यस प्रति ध्यान दिन्छ कि, दिदैन हामी भने खबरदारीमा लागि रहने छौं । शतक रक्तदाता प्रेमसागर कर्माचार्यले युवापुस्तामा उत्प्रेरणा जाग्रित गराउनका लागि देशको हिमाल, पहाड, तराई लगायत विभिन्न ठाउँमा रक्तदान गर्दै आई रहनु भएको छ ।
नेपाल रक्तदाता समाज गोरखा जिल्ला शाखाका अध्यक्ष रामबहादुर खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख कृष्णबहादुर रानाले नेपालका सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेम सागर कर्माचार्यलाई गोर्खालीहरूको तर्फबाट सार्वजनिक अभिनन्दन गरिनुका साथै दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरिएको थियो । नेपाल रक्तदाता समाज गोरखा जिल्ला शाखाका अध्यक्ष रामबहादुर खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा महिला तथा पुरूष गरी ४१ स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका छन् ।
स्वयंसेवी रक्तदाताहरुले दानमा दिएको रगत सम्वन्धित विरामीले निःशुल्क पाउनु पर्छ भन्दै सरकारलाई ध्यानाकर्षण गराउँदै आउनुभएका छन् ।