Thursday, April 30सत्यम खबर
Shadow

औलो भेटिएपछि डुडुवाद्धारा विशेष निगरानी, घरधुरी सर्भेक्षण सुरु

डुडुवा, २७ फागुन – बाँकेको डुडुवा गाउँपालिकामा औलों रोग पुष्टी भएपछि उच्च सर्तकता अपनाइएको छ । गाउँपालिकाको वार्ड नं.–४ स्थित शाहपुर्वा र मोल्हुपुर्वा गाउँका एक महिला र एक जना पुरुषमा केही दिन अघि औलों रोग पुष्टी भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताउनुभयो ।
उहाँका अनुसार स्थानीय दुई जनामा औलोको लक्षण देखिएपछि रगतको (आरडिटी र माइक्रोस्कोपिक) परिक्षण गर्दा औलो रोग पुष्टी भएको हो । दुई जनामा औलो देखिएपछि पालिकाले वडा नं. ४ अन्तर्गतका टोलमा घरधुरी सर्भेक्षण सुरु गरेको जनाएको छ ।


तीन जनाका दरले चार वटा समुहमा १२ जना स्वास्थ्यकर्मी परिचालन गरि घरधुरी सर्भेक्षणसंगै स्वास्थ्य शिक्षा, परामर्श र जानकारी दिने कार्य भईरहेको स्वास्थ्य शाखा प्रमुख शर्माले बताउनुभयो । स्थानीयलाई ज्वरोलगायतका सामान्य लक्षण देखिने वित्तिकै नजिकको स्वास्थ्य संस्थामा रगतको नमूना परिक्षण गर्न लगाइएको छ । सबै स्वास्थ्य संस्थाहरुमा रगत परिक्षणको कार्य निःशुल्क रुपमा व्यवस्था गरिएको छ ।
समुदायमा पुगेका स्वास्थ्यकर्मीहरुले रोगबाट बच्ने उपाय, सावधानी लगायतका विषयमा जानकारी गराउने कार्य गरिरहेका छन । पालिकाले घरधुरी सर्भेक्षण पश्चात रोगबाट बच्नका लागि निःशुल्क किटनाशकयुक्त झुल वितरण गर्ने पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीले भन्नुभयो, –‘पालिकाका केही वडामा औलो रोग भेटिएको छ, हामीले थाहा पाउनै वित्तिकै स्वास्थ्यकर्मी परिचालन गरि व्यवस्थापन गरिरहेका छौ, उक्त रोगविरुद्ध हामी उच्च सर्तकता अपनाएका छौ ।’


बाँकेको नरैनापुर गाउँपालिकामा औलौका सबैभन्दा बढी विरामी भेटिएका छन चालु आर्थिक आर्थिक वर्ष २०८०÷०८१ को साउदेखि माघसम्म नरैनापुर गाउँपालिकामा ८० जना, डुडुवामा ५ जना, राप्तीसोनारीमा ५ जना, बैजनाथ गाउँपालिकामा १ जना, नेपालगन्ज उपमहानगरपालिकामा ५ जनामा औलो रोगको विरामी भेटिएको र अरु पालिकामा शुन्य रहेको स्वास्थ्य कार्यालय बाँकेका किटजन्यरोगका फोकल पर्सन दुर्गा गौतमले बताउनुभयो ।
उहाँका अनुसार बाँके जिल्ला नै औलोको उच्च जोखिममा रहेको छ । औलोका विरामी देखिएका पालिकामा विशेष निगरानी गरिएको उहाँले बताउनुभयो । रोग नियन्त्रण तथा व्यवस्थापनका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा स्वास्थ्य कार्यालय र स्थानीय तहको सयुक्त पहलमा किटनाशक झुल वितरण र जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *