Sunday, April 12सत्यम खबर
Shadow

आईसोलेसन निर्माण कार्यमा तिब्रता

नेपालगन्ज, २७ असोज – भेरी अस्पतालमा थप ७५ बेडसहितको आइशोलेशन निर्माण कार्य तीब्र बनाईएको छ । भेरी अस्पतालमा अक्सीजन सुविधासहित ७२ बेडको कोरोना विशेष अष्पताल सञ्चालनमा ल्याइए पनि लक्षणसहितका गम्भीर बिरामीहरुको संख्या बढ्दै गएपछि सम्वाद समूह बाँकले थप आइशोलेशनको आवश्यक्ताका सन्दर्भमा सम्वाद सहजीकरण गरेको छ ।
कोरोना (कोभिड–१९) संक्रमितको सहज र प्रभावकारी उपचारका लागि सम्वाद समूह बाँकले गत ११ गते सरोकारवालासँग अन्तर सम्वाद गरेपछि आईसोलेशन निर्माण, व्यवस्थापनको तदारुकता बढाइएको छ ।


अहिले भेन्टीलेटरसहितको सुविधायुक्त आईसोलेशन निर्माण कार्य भइरहेको छ । एक हप्ता भित्रै आवश्यक संरचना निर्माण गर्ने तयारी गरिएपनि स्टोर गरिएका सर सामान व्यवस्थापन गर्नेदेखि प्राविधीकीय तयारी पुरा गर्दा अझैं केही समय लाग्ने भेरी अस्पतालका कोरोना विशेष संयोजक डा.श्याम सुन्दर यादवले जानकारी दिनुभयो । नेपालगन्ज उपमहागरपालिकाको अगुवाईमा उपभोक्ता समिति गठन गरेर दोस्रो तलाका दुई स्थानमा अक्सीजन, शौचालय सहितको संरचना निर्माण गरिंदैछ ।
आइशोलेशन निर्माणका लागि जिल्ला समन्वय समितिको शिक्षा तथा आकश्मिक कोष र ८ वटै स्थानीय तहबाट एक करोड सहयोग प्राप्त भएको छ भने नेपाल सरकारको सहयोग पनि थपिंदैछ ।
कोरोनाका गम्भीर संक्रमितलाई राखेर प्रभावकारी उपचार गर्नकै लागि आइशोलेशन सञ्चालन गरिन लागीएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिनुभयो ।
अध्यक्ष धितालका अनुसार फल सीलीङ, ढोका झ्याल, एसी जडानका काम भइरहेको छ । यसैबीच सम्वाद समूह बाँकेका तर्फबाट आइशोलेशन निर्माणको स्थलगत अवलोकनका साथै सरोकारवालासँग आवश्यक सम्वाद तथा परामर्श समेत गरिएको छ ।


समूहका सहजकर्ता शुक्रऋषि चौलागाई, सदस्य एवं अधिवक्ता विश्वजित तिवारी, बाँकेका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभीड १९ संकट व्यवस्थापन केन्द्रका प्रमुख रामबहादुर कुरुम्वाङ, अष्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, भेरी अष्पतालका कोभीड १९ कमाण्डर डा. श्याम सुन्दर यादव, निर्माण उपसमितिका संयोजक विजय गुप्तासहितको टोलीले सोमबार निर्माण अवस्था बारे चासो राख्दै आवश्यक छलफल गरेको छन् ।
अवलोकनपछि अध्यक्ष धितालको कार्यकक्षमा गरिएको अन्तर सम्वादमा प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले कोरोनाको प्रभावकारी उपचारका लागि नागरिक स्तरबाट निरन्तर खवरदारी र सहयोगको आवश्यक्ता औल्याउनु भयो ।
मेसु डा. प्रकाश थापाले दशैं लगत्तै उपचार शुरु हुने गरि तयारी गरिएको अवगत गराउनु भयो । डा. यादवले अझैं थप आईसोलेशन निर्माणमा जोड दिनु भयो ।
कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार कोरोना संक्रमण कै कारण अहिलेसम्म बाँकेमा ३८ जनाको ज्यान गइसकेको छ । बाँकेमा २८ हजार ६ सय ९५ जनाको परिक्षण गरिएकोमा २ हजार ४ सय ४० जनामा पोजेटीभ देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *