Wednesday, May 27सत्यम खबर
Shadow

केन्द्रको प्रयासमा शाही विरूद्धको हस्ताक्षर फिर्ता गराउने तयारी

काठमाण्डौ, २७ असोज – कर्णाली प्रदेशको नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरूद्ध संसदीय दलमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्न केन्द्रले पहल चालेको छ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना पक्षका प्रदेश सांसदहरूलाई हस्ताक्षर फिर्ता लिन भनेका छन् ।


आईतबार शाही विरूद्ध तत्कालीन एमालेका १५ र माओवादी केन्द्रका ३ गरी १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
३३ जना मध्ये १८ जना सांसद अविश्वासको प्रस्तावको पक्षमा उभिएपछि संसदीय दलमा शाही अल्पमतमा परेका छन् । संसदीय दलमा अल्पमतमा परेसँगै उनको सरकार पनि ढल्ने भएपछि केन्द्रमा प्रचण्डले सक्रियता बढाएका हुन् ।
प्रचण्डले सोमबार प्रधानमन्त्री ओली र बरिष्ठ नेता नेपाललाई भेटेर कर्णालीमा जे भइरहेको छ त्यसले पार्टी एकताको स्प्रिरिटलाई धक्का पुग्ने बताएका थिए ।
‘प्रधानमन्त्रीसँग उहाँले पार्टी एकता, हालै सम्पन्न स्थायी कमिटी र सचिवालय बैठकले गरेका निर्णय विपरीत कर्णालीमा अविश्वासको प्रस्ताव आएको बताउनुभयो,’ प्रचण्ड निकट स्रोतले भन्यो ।
जवाफमा प्रधानमन्त्री ओलीले यो प्रदेशको आन्तरिक मामिला भएको र त्यहाँ साथीहरू बीच पहिला नै आलोपालो सरकार चलाउने कुरा भएको बताएका थिए । प्रचण्डले आलोपालोको कुरा त केन्द्रमा पनि भएको उल्लेख गर्दै कर्णालीमा भइरहेको मुख्यमन्त्री फेर्ने खेल प्रधानमन्त्रीले रोक्नुपर्ने बताएका थिए ।
प्रधानमन्त्रीसँग भेटे लगत्तै प्रचण्डले बरिष्ठ नेता नेपालसँग पनि कुरा गरेका थिए । शाही विरूद्ध हस्ताक्षर गर्ने मध्ये ८ जना सांसद नेपाल निकट छन् ।
‘उहाँले पनि अहिले सरकार फेर्न उपयुक्त नहुने भन्दै सांसदहरूलाई हस्ताक्षर फिर्ता लिन लगाउनुपर्ने बताउनुभएको छ,’ प्रचण्डनिकट स्रोतले भन्यो,’ आज उहाँहरूले फिर्ता लिनुहुन्छ होला ।’
शाही विरूद्धको अविश्वास हस्ताक्षर फिर्ता गराउन केन्द्रमा प्रदेश इञ्चार्ज तथा स्थायी कमिटी सदस्य जनार्दन शर्मा सक्रिय भएका छन् भने वीरेन्द्रनगरमा नेपाल पक्षधर केन्द्रीय सदस्य निरज आचार्य लागेका छन् । जाजरकोटका आचार्य अहिले वीरेन्द्रनगर मै छन् ।
अहिलेसम्म पूर्वमाओवादीबाट सांसद बनेका दुई र नेपाल पक्षका केहीले हस्ताक्षर फिर्ता लिने टुंगो भएको मुख्यमन्त्री शाहीनिकट स्रोतले बतायो ।
दैलेखबाट निर्वाचित सांसद धर्मराज रेग्मीले भने हस्ताक्षर फिर्ता लिन अस्वीकार गरिरहेका छन् । अन्तिममा उनले पनि हस्ताक्षर फिर्ता लिने पूर्वमाओवादीको विश्वास छ ।
माधव नेपाल पक्षका एक सांसदले भने केन्द्रले भने पनि नभने पनि आफूहरूले हस्ताक्षर फिर्ता नलिने बताएका छन् ।
‘हामीले सोचविचार गरेर निर्णय गरेका हौं । केन्द्रबाट यस्तो कुरा आउँछ भन्ने पनि हामीलाई थाहा थियो,’ सांसद सुशील थापाले सेतोपाटीसँग भने,’ केन्द्रसँग सल्लाह नगरी हस्ताक्षर गरेकाले केन्द्रले भनेर हामी फिर्ता लिँदैनौं ।’
उनले आज दिउँसो १ बजे बैठक बसेर अविश्वास प्रस्ताव संसदीय दलबाट पारित हुने बताए ।
‘अविश्वासको प्रस्ताव दर्ता भएपछि दलको नेता अल्पमतमा परिसक्नुभयो, उहाँले प्रमुख सचेतकलाई हटाउन सक्नु हुन्न,’ थापाले भने, ‘त्यसैले हामी आज बैठक बस्छौं र निर्णय गर्छौं ।’
केही सांसदले हस्ताक्षर फिर्ता लिए भने तपाईंहरूको बहुमत नपुग्ला नि भन्ने प्रश्नमा उनले भने– हामीसँग अहिले मन्त्री भएका सांसदहरूको पनि हस्ताक्षर छ । हामी २२–२३ जना छौं । एक–दुई जनाले फिर्ता गरे भने पनि फरक पर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *