
नेपालगन्ज, १६ पौष – प्रथमकिशोर सिंह राठौर यु–१६ कपक्रिकेट प्रतियोगितामा आदर्श हाईस्कुलले १ रनको रोमाञ्चक जित हासिल गरेको छ । आईतबार भएको अर्को खेलमा नेपालगन्ज सेन्ट जेभियर्सले लगातार जित हासिल गर्ने क्रममा ९ विकेटले सफलता हासिल गरेको छ ।
नेपालगन्ज स्थित मंगल प्रसाद उच्च माविको खेल मैदानमा भएको खेलमा आदर्शले आइडियल पब्लिक हाईस्कुललाई १ रनले हराउन सफल भएको हो ।
सुरुआतमा ब्याटिङ गरेको आदर्शले १६.२ ओभरमा १ सय १४ रन बनाएर अलआउट भएको थियो । टोलीका लागि मयंक कृष्ण सौर्यले ३४ रन र धिरज थापाले ११ रन बनाए । आइडियलका लागि अनस कसगर र समिर अन्सारीले ३–३ विकेट लिए ।
१ सय १५ रनको लक्ष्य लिएर मैदानमा आएको आइडियलले १९.३ ओभरमा अलआउट भएको थियो । आइडियलका लागि समिरले २२ रन र अनुराग वैश्यले १५ रन बनाएका थिए । आदर्शका जीवन खत्रीले ३ विकेट र मंयकले २ विकेट लिए । खेलमा आदर्शका मयंक म्यानअफ द म्याच घोषित भए ।
यसैगरी आईतबार भएको अर्को खेलमा नेपालगन्ज सेन्ट जेभियर्सले लगातार जित हासिल गर्ने क्रममा एबीसी रेसिडेन्टल स्कुललाई ९ विकेटले पराजित गरेको छ । सुरुआतमा ब्याटिङ गरेको एबीसीले १९.२ ओभरमा ८३ रन बनाएर अलआउट भएको थियो । टोलीका लागि कमल विष्टले १८ रन र रबिन मानन्धरले ११ रन बनाए । नेपालगन्ज सेन्ट जेभियर्सका समयुक्त थापाले ३ विकेट, पंकज केसीले २ विकेट र बिपिन खनालले १ विकेट लिए ।

जवाफमा नेपालन्ज सेन्ट जेभियर्सले ११.५ ओभरमा १ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । टोलीका लागि पंकज केसीले ४८ रन, समयुक्त थापाले १७ रनको योगदान गरे ।
एबीसीका अर्सद सलमानीले १ विकेट लिएका थिए । खेलमा नेपालगन्ज सेन्ट जेभियर्सका पंकज केसी म्यानअफ द म्याच घोषित भए । खेलमा म्यानअफ द म्याच बन्न सफल खेलाडीलाई बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष सरोबर प्रसाईले पुरस्कृत गरेका थिए ।
ज्योति स्पोर्टस एकेडेमीले आयोजना गरेको प्रतियोगितामा बाँकेका १६ टिमले सहभागिता जनाएका छन् ।
ज्योति स्पोर्टस एकेडेमीका अध्यक्ष सिद्धान्तजंग शाहीका अनुसार प्रतियोगिताको समुह ‘ए’ मा जिभिएन, एबिसी, ड्रिम ल्यान्ड, सेन्ट जेभिर्यस, फुल्टेक्रा मावि, श्रीचन्द्र मेवालाल र मंगल प्रसाद उच्च मावि रहेका छन् ।
यसैगरी समुह ‘बी’ मा सिद्धार्थ विद्या सदन, जय बागेश्वरी मावि, ब्राइट ल्यान्ड, नेपालगन्ज मोडेल एकेडेमी, पशुपति हाईस्कुल, आदर्श, मोर्डन, महेन्द्र र आइडियल पब्लिक स्कुल रहेका छन् ।
प्रतियोगितामा सहभागि टिमलाई दुई समुहमा विभाजन गरेर नकआउटको आधारमा प्रतिस्पर्धा गराइएको छ ।
प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट ब्याटस म्यानले समान ५ हजार रुपैयाँ पाउने छन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार पुरस्कार प्राप्त गर्नेछ ।
