
नेपालगन्ज, १६ भाद्र – नेपालगन्ज उपमहानगरपालिकाले बजार क्षेत्रका छाडा पशुचौपायालाई कान्जीहाउस लैजानथालेको छ । बजार क्षेत्रमा छाडा रुपमा छोडिएका ७दर्जन गाई–गोरु र घोडा–खच्चडलाई आज बिहान वडा नम्बर २१ विर्तास्थित कान्जी हाउसमा लगिएको छ ।
बजारमा छाडा पशुचौपायाको संख्या बढ्दै जाँदा दुर्घटना हुन थालेपछि ५० वटा गाई–गोरु र ३२ वटा घोडा–खच्चडलाई कान्जी हाउस पुर्याइएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले बताउनुभयो । नगरका विभिन्न भागमा छरिएर रहेको छाडा पशु चौपायालाई एकिकृत गरेर एक साथ कान्जी हाउस पुर्याइएको थियो । नगर प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरीको टोलीले छाडा पशु चौपायालाई कान्जी हाउस पुर्याएको हो । त्यस क्रममा प्रहरी तालिम केन्द्रका प्रहरी जवानहरुले विशेष भूमिका निभाएका थिए ।

छाडा पशु चौपायालाई कान्जी हाउस लैजाने क्रममा नगर प्रमुख प्रशान्त विष्ट पनि संगसंगै पुग्नु भएको थियो । कान्जी हाउस पुगेर नगर प्रमुख विष्टले त्यहाँको अवस्थाबारे जानकारी समेत लिनुभएको छ । नगर प्रमुख विष्टले कान्जी हाउसका कर्मचारीलाई पशु चौपायाहरुको राम्रोसँग रेखदेख गर्न निर्देशन दिनुभयो । उहाँले पशु चौपायाको खानपिनमा पनि विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

भोलि कान्जी हाउसमा पशु स्वास्थ्य शिविर राखेर पशुहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिइने विष्टले बताउनु भयो । त्यसका लागि पशु शाखालाई निर्देशन दिइ सकिएको उहाँको भनाई छ । छाडा पशु चौपायाका दीर्घकालीन व्यवस्थापनका लागि नेपालगन्ज उपहानगरपालिकाले राप्ती सोनारी गाउँपालिकासँग समन्वय र सहकार्य गरेर काम गरिरहेको छ । नगर प्रमुख विष्टसंगै प्रबक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, नेपाली काँग्रेस बाँकेका सचिव सुधांशु कोइराला लगायत कान्जी हाउस पुग्नु भएको थियो ।

पशुधनीले नै जथाभावी रुपमा घोडा–खच्चड र गाई–गोरु छोड्दा छाडा पशु चौपाया नियन्त्रणमा कठिनाई भइरहेको छ । कान्जी हाउस पुर्याएका आफ्ना जनावर लिन पुग्ने पशुधनीहरुले जरिवाना तिर्नुपर्ने हुन्छ । उनीहरुलाई अब उप्रान्त पशु चौपाया छाडा नछोड्ने लिखित प्रतिबद्धता गरेर मात्र बस्तु भाउ फिर्ता गरिने नगर प्रहरी प्रमुख बोगटीले बताउनुभयो ।
