
नेपालगन्ज, १० भाद्र – नेकपा एमाले बाँकेका प्रचार विभाग प्रमुख सतिश निरौलाले बाँके अध्यक्ष किस्मतकुमार कक्षपतिलाई खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिकले अमानवीय, अमर्यादित र अति तुच्छ शब्द प्रयोग गरेको भन्दै प्रेस मिटको आयोजना गरी खेद प्रकट गर्दै कानुनी उपचारमा जाने भन्दै प्रेस विज्ञप्ती जारी गरेका छन् ।

जारी विज्ञप्तीमा ‘यही भदौ ५ गते हाम्रो पार्टीका पोलिटब्यूरो सदस्य एवम् बाँके जिल्ला इन्चार्ज कमरेड खेममान खड्काले हाम्रो पार्टीका अध्यक्ष एवम् निवर्तमान खजुरा गाउँपालिकाका अध्यक्ष कमरेड किस्मतकुमार कक्षपतिलाई पार्टी कामको सन्दर्भमा गाउँपालिकाको स्वमात्विमा रहेको ९८५८०६०११५ मा फोन सम्पर्क गर्दा हालका गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिकले हाम्रा अध्यक्षलाई अमानवीय, अमर्यादित र अति तुच्छ शब्द प्रयोग गर्दै पार्टी नेता एवम् इन्चार्ज समेतलाई गाली, बेइजती र अपशब्द प्रयोग गरेकोमा अध्यक्ष विक प्रति हाम्रो सिङ्गो पार्टी खेद व्यक्त गर्दछ । गाउँपालिका अध्यक्ष पद सार्वजनिक हो । आम नागरिकसँग सम्पर्क र समन्वय गर्नुपर्ने जिम्मेवारी पनि हो । साथै, पालिकाको सम्पती पदमा आसिन व्यक्तिले प्रयोग र हस्तान्तरण गर्नुपर्ने पद्दती र दायित्व हो । यसलाई अध्यक्ष विकले आफ्नो व्यक्तिगत सम्पती र प्रयोग जस्तो व्यवहार गर्नु जनमतलाई अपहेलना गर्नु र पदमा बसीरहन अशोभनीय हो । पार्टी नेता खड्का र आम व्यक्तिले अध्यक्ष कक्षपतिसँग विगत यो नम्बरमा सम्पर्क गर्दा व्यक्तिगत वा कार्यालयको भनि जानकारी लिनुपर्ने बाध्यकारी अवस्था होइन । यसका साथै कुनै सार्वजनिक पदमा आसिन व्यक्तिले प्रयोग गर्ने फोन वा अन्य साधन व्यक्तिको हो वा कार्यालयको हो भनी आम नागरिकले बुझीराख्नुपर्ने बाध्यकारी पनि होइन ।’ भनी उल्लेख गरेका छन् ।

यसैगरी विज्ञप्तीमा ‘नेता खड्काले शिष्ट, मर्यादित भाषामा संबाद गर्दागर्दै पनि अध्यक्ष विकले निच, तुच्छ र गैर जिम्मेवारी पूर्ण व्यवहार र भाषा प्रयोग गरी हाम्रा अध्यक्षलाई गाली गलौच गरेको संबाद अभिलेखमा छ । घटनाको लामो समय हुँदाहुँदै पनि आजका मिति सम्म अध्यक्ष कक्षपति र नेता खड्कासँग व्यक्तिगत र सार्वजनिक रुपमा अध्यक्ष विकले गल्ती समेत महशुस नगर्दा हामी बाध्य भएर यो घटना सार्वजनिक गर्न र कानुनी कार्वाहीका लागि सम्बद्ध निकायसँग जानुपर्ने अनिवार्यता सावित भएको छ । निवर्तमान अध्यक्ष र पूर्व जनप्रतिनिधि समेत रहेका हाम्रा अध्यक्ष र नेता खड्का प्रति यस्तो व्यवहार गर्ने गाउँपालिका अध्यक्ष विक एकछिन पनि खजुराको स्थानीय सरकार प्रमुख भएर बस्नु कुनै नैतिकता र जिम्मेवारीले सुहाउदैन । हाम्रा नेता र निवर्तमान अध्यक्ष प्रति दुब्र्यवहार गर्ने अध्यक्ष विकले आम खजुरावासी र अन्य व्यक्तिसँग कुनहद सम्मको व्यवहार गर्छन भन्ने यसैबाट प्रमाणित भएको छ ।’ उल्लेख गरेका छन् ।

यसैगरी विज्ञप्तीमा ‘हामी अध्यक्ष विक र वहाँको पार्टीलाई समेत सचेत गराउदछौँ । हाम्रो पार्टी अध्यक्षमाथी, वहाँको परिवार र पार्टी नेता कार्यकर्ता बाहेकको उपस्थितिमा आगामी दिनमा हुने कुनै घटना वा दुर्घटना सम्ममा पालिका अध्यक्ष विककै प्रत्यक्ष संलग्नता, सहभागिता र निर्देशनमा हुने भएकोले ज्यान सुरक्षा र संरक्षणका लागि सम्बद्ध निकायसँग पनि अनुरोध गर्दछौ ।’ उल्लेख गरेका छन् ।
यसैगरी विज्ञप्तीमा ‘हामी यस घटनाको हदैसम्म घोर भत्र्सना गर्दछौँ । र यो घटना व्यक्तिगत भन्दा पदीय पूर्वाग्रह, राजनीतिक प्रतिसोध घटना हो । वहाँको पार्टीले दिएको जिम्मेवारीका आधारमा सार्वजनिक पद धारण गर्न वहाँ अयोग्य समेत भएको ठहर गर्दछौँ । यसका साथै सम्बद्ध निकायलाई घटनाको गहन अनुसन्धान गर्न र नीजलाई कावार्हीको दायरामा ल्याउन अनुरोध गर्दछौँ । हामी हाम्रा नेता—कार्यकर्तालाइ विचलित नहुन पनि अपिल गर्दछौँ । यस घटनालाई आम सचेतिकरणका लागि प्रकाशित, प्रशारण गरिदिनुहुन सबै सम्पादक ज्यूहरुलाई अनुरोध गर्दछौँ’ उल्लेख गरेका छन् ।
