
नेपालगन्ज ५ भाद्र – बाँके लगायत देशैभरका पशुहरुमा फैलिएको लम्पी स्किन रोगको संक्रमणको रोकथाम तथा उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।
बाँकेका नागरिक समाजहरुको एक समुहले लम्पी स्किन रोगको उपचारको व्यवस्था तत्काल गर्न गराउन माग गरेको हो । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीको नेतृत्वमा गएको एक टोलीले बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।

बाँके जिल्लामा हालसम्म करिब दशहजार बढी पशुमा लम्पी स्किन रोगको संक्रमण देखिएको छ भने करिब ४ दर्जन बढी पशुहरुको रोगले मृत्यु समेत भएको अवस्थामा पशुहरुमा तत्काल खोप, तथा अन्य उपचारको व्यवस्था मिलाउन तत्काल माग गरेको ज्ञापन पत्रमा उल्लेख छ । सङक्रमणका कारण दूधको उत्पादन घटनु तथापशु सङ्क्रमणबाट मुक्त भए पनि पहिले कै अवस्थामा नर्फकनुले किसान मारमा परेका छन् ।
