
धर्म प्रकाश जयसवाल
नेपालगन्ज, २ भाद्र – आज नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन सम्पन्न । नेपालगन्ज रंगशाला प्राङ्गणमा मतदान आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान सम्पन्न भएकोमा नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन मतदाता नामावलीमा ४ हजार ९ सय ३३ जना मतदाता मध्ये ४ हजार १ सय ३१ जनाले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
आज सम्पन्न भएको मतदानमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह र समावेशी प्यानल चुनावी मैदानमा हुनुका साथै अन्य स्वतन्त्र उम्मेदवारहरू समेत चुनावी मैदान रहेका थिए ।
संघको निर्वाचनमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका तर्फबाट अध्यक्षमा ललितकुमार रौनियार, उपाध्यक्ष (बाणिज्य) मा विष्णुप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्षमा मो.सफिक वेहना, महिला उपाध्यक्षमा करिश्मा योगी, महासचिवमा टंकप्रसाद शर्मा, उपमहासचिवमा टेकबहादुर खड्का, कोषाध्क्षमा मख्खनबहादुरको उम्मेदवार रहेकाे थियाे ।
यसैगरी सदस्य पदमा शिवप्रसाद दाहाल, अतुलकुमार गुप्ता, सुनिल भण्डारी, सन्तोषकुमार पौडेल, विवेककुमार श्रेष्ठ, कैफुल वरा जोलाह, पदम श्रेष्ठ, युवराज ढकाल, प्रमोदकुमार अग्रवाल, बलबहादुर विष्ट(बबी) उम्मेदवारका रूपमा रहेका थिए ।
त्यस्तै समावेशी प्यानलबाट अध्यक्षमा टंकबहादुर धामी, उपाध्यक्ष उद्योगमा चिरञ्जीवि ओली, उपाध्यक्ष वाणिज्यमा हरिलाल न्यौपाने, उपाध्यक्ष महिलामा मन्दिरा पाण्डे, महासचिवमा भीमबहादुर रानाभाट, उपमहासचिवमा मदनराज शर्मा, कोषाध्यक्षमा सलाउद्दिन जसगढलाई उम्मेदवार बनाएर मैदानमा पठाईएकाे थियाे ।
त्यस्तै, सदस्यतर्फ इन्दिराकुमारी शाही, तोपबहादुर थापा, विष्णु श्रेष्ठ, बुद्धिबहादुर दियाली, सुदन केसी, शिवराज बर्मा, धर्मेन्द्र सिंह ठटेर, जमालुदिन अन्सारी, टिकामणि उपाध्याय, डम्बर चन्दलाई उम्मेदवार बनाईएको थियाे ।
उत्साह पूर्ण सम्पन्न भएको आजको निर्वाचनमा ८०% बढी मतदाता हरुले मतदान गरेका छन । बिहान ८ बजेदेखी सुरु भएको मतदान स्थल रंगशाला कबर्ड हल बहीरा आ-आफ्नो उम्मेदवारको पक्षमा समर्थकहरूले मतदान गर्न अनुरोध गरेका थिए ।
सबैले आ-आफ्नो प्यानल जितने दाबी गरे पनि अन्तिम नतीजा मतगणना पछि मात्र जानकारी हुनेछ । मतगणना भने भाेलि भाद्र ३ गते आईतवारबाट मात्र सुरु हुने निर्वाचन आयोगले जानकारी गराएको छ ।
