
नेपालगन्ज, २७ श्रावण – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ को शहरी स्वास्थ्य केन्द्रबाट गौरव स्मृति तथा वी ओर सेल्फ फाउण्डेशन नेपालगन्जले एक दिने निःशुल्क आँखा जाँच शिविर आज शनिबार सम्पन्न गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका भित्र अन्य वडाहरुमा समेत निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको तथा आउने दिने समेत गर्ने जानकारी गराउँदै सहयोगी डाक्टर ब्रिजेशकुमार मिश्राले ८ हजार बढी सेवाग्राहीहरुलाई सेवा उपलब्ध गराउनुका साथै गौरव स्मृति फाउण्डेशनको सहकार्यमा निःशुल्क औषधि समेत उपलब्ध गराईएको बताउनुभयो ।
विगत ३–४ वर्षदेखि मानव सेवामा समर्पित गौरव स्मृति फाउण्डेशनले हालका दिनमा थप उर्जाका साथ सक्रिय रुपमा विभिन्न स्वास्थ्य सम्बन्धी सेवाहरु निःशुल्क उपलब्ध गराउँदै आईरहेको जानकारी गराउँदै नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का वडा सदस्य सलिम मुसलमानले भन्नुभयो– ‘अहिले आँखा सम्बन्धी बिमारी फैलिएको अवस्थामा वडासित सहकार्य गरी गौरव स्मृति फाउण्डेशनले सराहनीय कार्य गरेकोप्रति सम्पूर्ण टीमलाई धन्यवाद दिनुका साथै अगामी दिनमा समेत वडाबाट हामी सहकार्य गर्न तत्पर रहने’ बताउनुभयो ।
यसैगरी नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का वडा सदस्य उत्तमसिंह सिजापतिले भन्नुभयो– ‘आज शहरी स्वास्थ्य केन्द्रमा निःशुल्क आँखा जाँच शिविरमा वडाबासी ज्येष्ठ नागरिकहरुका साथै बच्चा–बच्चीहरुले समेत सेवा लिएका छन् । आँखा सम्बन्धी बिमारी बढेको अवस्थामा वडाबाटै वडाबासीहरुलाई गौरव स्मृति फाउण्डेशनको सहकार्यमा निःशुल्क औषधि सहितको सेवा उपलब्ध गराउँदा धेरै खुशी लाग्नुका साथै गौरव स्मृति फाउण्डेशनलाई आफ्नो वडाको तर्फबाट धन्यवाद समेत दिन चाहान्छु,’ भनी भन्नुभयो ।
निःशुल्क आँखा जाँच शिविरमा आँखा जाँच गराउन आउनु भएका ज्येष्ठ नागरिक ७० वर्षिय सेवाग्राही हनिफ खाँले वडा भित्र रहेको स्वास्थ्य केन्द्रबाट आँखा जाँच सम्बन्धी सेवा निःशुल्क रुपमा पाउँदा धेरै खुःशी लागेको बताउनु भयो ।
यसैगरी गौरव स्मृति फाउण्डेशनका संरक्षक प्रदीप शाहले– ‘हामीले गौरव स्मृति फाउण्डेशनबाट अन्त वार्डहरुमा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु गर्दै आईरहेको हुँदा आफ्नै वडाका वडाबासीहरुलाई आज आँखा जाँच सम्बन्धी सेवा उपलब्ध गराउन पाउँदा खुशी लागेको छ । यसमा सहकार्य गर्ने वडा नं. ४ का जनप्रतिनिधिहरु, सहयोगी डाक्टरहरु, प्राविधिकहरु तथा गौरव स्मृति टीमका सम्पूर्ण सदस्यहरुलाई हृदयदेखि धन्यवाद दिनु चाहान्छु’ भन्नुभयो ।
संरक्षक शाह भावुक हुँदै मेरो छोरा गौरव शाह अल्पआयु मै हामीलाई छोडेर गएको तथा छोरा हुँदा यस्तो खाले सहयोगी कार्यहरु गर्दै आइरहेको हुँदा छोरा कै नामबाट विधिवत संस्था दर्ता गरी ८ लाखको अक्षय कोष खडा गरी उसबाट आउने पैसाबाट हामीले सामाजिक कार्यहरुलाई निरन्तरता दिने बताउँदै ‘मान्छे मरेर जान्छ, यो सत्य हो तर केही गरेर जानु उचित हुन्छ भनी हामीले समाजमा सकारात्मक सोचका साथ केही छोडेर जानु पर्छ भन्ने सोचका साथ सामाजिक कार्यमा अग्रसरता लिएको बताउनुभयो ।’
गौरव स्मृति फाउण्डेशनको आयोजना तथा वडा नं. ४ को सहकार्यमा सम्पन्न निःशुल्क आँखा जाँच शिविरमा वडा नं. ४ का वडा सदस्य उत्तमसिंह सिजापति, सलिम मुसलमान, महिला सदस्य सुमिता श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिका निरिक्षक जागेश्वर बस्नेत, नेपाल टे«ड युनियन बाँके उपमहानगर अध्यक्ष टोजेन्द्र बिक, गौरव स्मृति फाउण्डेशनका अध्यक्ष मधु शाह, उपाध्यक्ष करन शाह, सचिव शुकराम ठाकुर, सहसचिव प्रेरणा शाही, सदस्यहरु शिवम शाह, बिजय कोरी, मुन्सी हजाम, ब्रिजेश मिश्रा, राजन साई, शुभम वैश्य लगायतको सहभागिता रहेको थियो ।
