
नेपालगन्ज १६ अषाढ – नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ फुल्टेक्रा स्थित निमार्णाधिन कच्ची सडकलाई समयमा नबनाउ“दा स्थानीयलाई सास्ती भएको छ । वडा कार्यालयदेखि राजभवन पछाडी करिब आठ सय मिटर कच्ची सडकमा माटो पटान गरेको एक महिनाभन्दा बढी भइसक्दा पनि ग्राभेल नहाल्दा वर्षाको समयमा पानी परेर स्थानीयलाई आवतजावतमा निकै समस्या भएको छ ।
आज विहानैदेखि भएको वर्षाले कच्ची माटो गलेर सडक हिलाम्य भएपछि पैदल, मोटरसाईकल तथा अन्य सवारी साधनलाई आवतजावतमा समस्या भएको छ ।
वर्षाको समयमा सडक निर्माण नभएपछि विशेष गरि विद्यालय जाने बालबालिका र पैदल यात्रीलाई निकै सास्ती भएको स्थानीय युवा देवनन्द यादव बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ,– “वर्षाले सडक हिलाम्य छ, बालबालिकाले विद्यालय जान पाएका छैनन्, बच्चाहरुको जुत्ता नै हिलो र पानीमा भिज्ने गरेको अवस्था छ ।”
वर्षामा पानी र हिलोको समस्या र पानी नपर्दाको अवस्थामा धुलोको समस्याले महिनौदेखि स्थानीयले हैरानी व्यहोरेका छन् ।
संघिय शहरी विकास तथा भवन निर्माण कार्यालय नेपालगन्जको सहकार्यमा भट्टाराई निमार्ण कन्स्ट्रक्सनले निर्माणको ठेक्का लिएको छ । ठेक्का लिएको लामो समय भइसक्दा पनि समयमा निर्माण नगरेपछि स्थानीयलाई समस्या भएको हो ।
सडक निर्माण गर्दा शुरुमा नाला निर्माण नगरि सिधै माटो पटान गरेपछि सडक खण्डमा पर्ने अधिकांस घरबाट निस्कने पानी थुनिएको छ । बिना नालाको सडक बनाउ“दा पानी बगाउने समस्या भएको स्थानीय रामसमुझ शाहु बताउनु हुन्छ ।
सडक निर्माण ढिलाई बारे संघिय शहरी विकास कार्यालयका प्रमुख विजय खनाल र निर्माण कम्पनीका प्रमुखलाई सोध्दा निर्माणमा ढिलाई भएको स्वीकार गर्नुभयो । ठेकेदार र संघिय शहरी विकास कार्यालयको चरम लापरवाहीका कारण सडक निर्माणमा ढिलाई भएकाले सरोकारवाला निकायको ध्यान केन्द्रित हुन आवश्यक देखिन्छ ।
