Sunday, April 12सत्यम खबर
Shadow

निर्णायक खेलमा विजयी भएपछि नेपालले जित्यो मलेसियाविरूद्धको सिरिज

काठमाण्डौ, २१ जेठ – नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले मलेसियाविरूद्धको पाँच खेलको टी-२० सिरिज जितेको छ।

आइतबार भएको पाँचौ तथा निर्णायक खेलमा घरेलु टिम मलेसियालाई ३ विकेटले पराजित गर्दै नेपालले सिरिज ३-२ ले आफ्नो पक्षमा पारेको हो।

नेपालले सिरिजमा यसअघि दोस्रो र तेस्रो खेल जितेको थियो। पहिलो खेलमा पराजित नेपालले शनिबार भएको चौथो खेल पनि हारे पछि पाँचौ खेल निर्णायक बनेको थियो।

आइतबार मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले ४ बल खेल्न बाँकी छदा ७ विकेटको क्षतिमा पार गर्‍यो।

नेपालका लागि ‌ओपनिङ ब्याटर सीता रानामगरले ३४ रन जोडिन् भने कप्तान रूबिना क्षेत्रले २३ रनको योगदान गरिन्। अप्सरी बेगमले १३ बलमा नटआउट १५ रन जोडे पनि नेपालको जित सम्भव भयो।

ज्योती पाण्डेले नटआउट ११ रन जोड्दा नेपालका अरु ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

बलिङमा मलेसियाकी एइना हसिमले २ विकेट लिइन्।

त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ५ विकेटको क्षतिमा १०९ रन जोड्यो।

मलेसियाका लागि ओपनरद्वय एनी दुराइसिघंमले २४ रन र वान जुलियाले ४७ रन जोडेका थिए। यस्तै महिरा इस्माइलले २० रनको योगदान दिए।

बलिङमा नेपालकी कविता जोशीले २ विकेट लिइन् भने इश्वरी विष्टले १ विकेट हात पारिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *