
नेपालगन्ज, ६ जेठ – चलचित्र पत्रकार संघको स्थापना दिवसको अवसरमा चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाले शनिबार आयोजना गरेको दोस्रो वार्षिक उत्सव तथा सम्मान कार्यक्रममा वरिष्ठ निर्देशक कैलाश प्रवीणलाई विशेष सम्मान गरेको छ ।
संघले नेपालमा पहिलोपटक नेपाली गीतलाई क्यासेटमार्फल बजारीकरण र नेपालमा पहिलो अवधि भाषको चलचित्र निर्देशन गरेको भन्दै निर्देशक प्रवीणलाई विशेष सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, चलचित्र पत्रकार संघ नेपाल बाँके शाखा अध्यक्ष रामचन्द्र पौडेल, विशिष्ट अतिथि नेपाल पत्रकार महासंंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारीलगातयले उनलाई दोसल्ला, ढाका टोपी, माला, अबिर लगाउँदै विशेष सम्मान–पत्र प्रदान गरेका थिए ।
त्यस्तै उक्त कार्यक्रममा नेपाली चलचित्र र कला क्षेत्रलाई मोफसलबाट पत्रकारिताको माध्यमबाट योगदान दिई रहेको भन्दै पत्रकार ज्ञानुसंगम खड्कालाई कदर पत्र प्रदान गरिएको छ । पत्रकार खड्कालार्ई संघले प्रोत्साहन स्वरुप नगद २ हजार १ सयसहित कदर पत्र प्रदान गरेको हो ।
