Friday, May 1सत्यम खबर
Shadow

जानकी ३ मा निःशुल्क स्वास्थ्य शिविर

सकिल अहमद राई
जानकी, २९ चैत – बाँकेको जानकी गाउँपालिकामा बुधवार सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा ३२५ जनाले सेवा लिएका छन् । जानकी गाउँपालिका वडा नम्बर ३ स्थित इन्द्रपुर स्वास्थ्य चौकीमा भएको शिविरमा २४३ जना महिला र ८२ जना पुरुषले स्वास्थ्य सेवा लिएको स्वास्थ्य शाखाले जनाएको छ ।
१०० भन्दा बढी महिलाहरुको पाठेघर परीक्षण गरिएकोमा ४ जनाको पाठेघर खसेको भेटिएको र ३५ जना महिलाको पाठेघरमा सङ्क्रमण भएको पाइएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक तमलाल बेल्वासेले जानकारी दिए । कान्ती आरोग्य अस्पताल प्रा. ली. को प्राविधिक सहयोगमा शिविरमा विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य जाँच गरेका थिए ।
नेपाली कांग्रेसका सहमहामन्त्री तथा बाँके क्षेत्र नम्बर ३ का सांसद किशोरसिंह राठौरको पहलमा पाठेघर मुखको क्यान्सर परीक्षण तथा जनरल स्वास्थ्य शिविरको आयोजना गरिएको हो । कान्ति आरोग्य अस्पतालको प्राविधिक सहयोगमा जानकी गाउँपालिकाले शिविर गरेको हो ।
शिविर अघि आयोजित औपचारिक कार्यक्रममा सोही क्षेत्रबाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य बादशाह कुर्मीले सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले आयोजित शिविरबाट बढीभन्दा बढी स्थानीय लाभान्वित हुने विश्वास व्यक्त गरेका थिए । उनले जानकीका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकुन् भन्ने कुरामा आफू गम्भीर रहेको बताए ।
सांसद मिना सिद्दिकीले जनताको घरदैलामा नै गुुणस्तरीय स्वास्थ्य सेवा पुग्नु सुखद पक्ष भएको बताइन् । गाउँपालिका अध्यक्ष छब्बन खाँले आफ्नो पालिकाका हरेक नागरिक स्वास्थ्य सेवाबाट बञ्चित नहोउन् भनेर आफू सचेत रहेको बताए । उनले जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न कहिँकतै नचुक्ने दाबी गरे । उनले स्वास्थ्य सेवा प्रवाहमा जानकी उत्कृष्ट सावित भइसकेको चर्चा गर्दै स्वास्थ्य सेवा प्रवाहमा आफू सधैं संवेदनशील हुने बताए ।
कार्यक्रममा उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार बर्मा लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *