Friday, May 1सत्यम खबर
Shadow

आगो नियन्त्रणको कृत्रिम घटना अभ्यास

प्रहलाद विश्वकर्मा
नेपालगन्ज, २९ चैत्त – जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको आयोजनामा आगलागी नियन्त्रण सम्बन्धी कृत्रिम घटना अभ्यास बुधवार नेपालगन्जमा सम्पन्न भएको छ ।
आगीपुर बस्तीमा अचानक आगलागी हुँदा ८ घरपरिवार प्रभावित भएका थिए । स्थानीयबासीले प्रयास गर्दागर्दै आगो नियन्त्रण नभएपछि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमा स्थानीयबासीले सूचना गरेपछि सुरक्षा निकाय नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रण गरिएको परिदृष्य देखाइएको थियो । आगो नियन्त्रणका लागि घरेलु तथा आधुनिक उपकरण प्रयोग गरिएको थियो ।
यसैगरी आगोमा परी घाइते भएका ६ जनाको उद्धार गरी प्राथमिक उपचार केन्द्रमा तत्काल उपचार गरी अस्पताल पठाइएको थियो ।
बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष विपिन आर्चायले सरकारसंग उपलब्ध जनशक्तिहरुको क्षमता अभिबृद्धिका लागि हरेक वर्ष कृत्रिम घटना अभ्यास गर्दै आएको र आवश्यक परेको वेला तत्काल विपद् उद्धार गर्न परिचालन गर्ने अभिप्रायले यस्तो अभ्यास गरिएको बताउनु भयो । उहाँले पूर्वतयारीले जोखिम न्यूनीकरणमा सहयोग पुग्ने कुरा उल्लेख गर्नु भयो ।
नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाद्वारा तालिम प्राप्त प्राथमिक उपचार स्वयंसेवक घाइतेहरुको उपचारका लागि परिचालन भएका थिए ।
प्रमुख जिल्ला अधिकारी आर्चायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशासन्त विष्ट, गाउँपालिका अध्यक्ष एवं प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवर्धन सिंह सम्झना, पदाधिकारी तथा सदस्य र नेपालगन्ज उपमहानगरपालिका भित्रका रेडक्रस उपशाखाका सभापतिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *