Friday, April 24सत्यम खबर
Shadow

भारतीय विदेश सचिव क्वात्रा सोमबार नेपाल आउँदै

काठमाण्डौ, २७ माघ – भारतीय विदेश सचिव विनयमोहन क्वात्रा दुई दिने भ्रमणका लागि सोमबार नेपाल आउँदै छन्। दुबै देशका परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै क्वात्राको भ्रमणबारे जानकारी दिएका छन्।

परराष्ट्र मन्त्रालयले परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा क्वात्रा नेपाल आउन लागेको जानकारी दिएको छ।

भ्रमणका क्रममा क्वात्राले समकक्षी पौड्यालसँग औपचारिक छलफल गर्ने छन्। उक्त छलफलमा दुई पक्षीय सहकार्यका विभिन्न पक्ष जस्तै कनेक्टिभिटी, उर्जा व्यापार, कृषि, स्वास्थ्यबारे छलफल हुनेछ।

यसअघि गत भदौमा परराष्ट्र सचिव पौड्यालले भारत भ्रमण गरेका थिए।

क्वात्राको भ्रमण नेपाल-भारतबीच भइरहेको उच्चस्तरिय भ्रमणको निरन्तरता भएको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले उनको भ्रमण दुई देशको सम्बन्धलाई अझ गहिरो बनाउने मौका हुने बताएको छ।

विदेश सचिवको रूपमा क्वात्राको यो पहिलो नेपाल भ्रमण हो भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक उच्च भारतीय कूटनीतिज्ञ काठमाडौं आउन लागेका हुन्।

क्वात्राले भारतीय राजदूतका रूपमा नेपालमा दुई वर्ष बिताएका थिए। गत चैतमा उनी भारतीय विदेश सचिव नियुक्त भएका हुन। उनी सन् १९८८ देखि भारतको कूटनीतिक सेवामा प्रवेश गरेका थिए।

नेपाल आउनुअघि उनले विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालय, अमेरिकास्थित भारतीय दूतावासमा काम गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *