
नरैनापुर, १० माघ – नरैनापुर गाउँपालिका वडा नं. २ बेउँचहवा गाउ“ भित्र नालासहितको ६ मिटर बाटो निर्माण गर्ने तयारीका साथै, सँगसँगै सो मा व्यापक रुपमा भ्रष्टाचार गर्ने तयारी समेत रहेको निर्माण स्थलमा थुपारिएर राखिएको निर्माण सामाग्रीलाई अवलोकन गर्दा स्पष्ट रुपले देख्न सकिन्छ ।
उक्त भ्रष्टाचारमा गाउँपालिकाका प्राविधिक कर्मचारीहरु, वडाध्यक्ष, गाउँपालिका अध्यक्षलगायतको मिलोमतो रहेको कुरा स्थानीयबासीहरुले जानकारी गराएका छन् । निर्माण स्थलमा थुपारिएको पहेलो ईट्टा र स्थानीय सरकारी वन क्षेत्र भित्रबाट बालुवा ढु·ा मिश्रित निर्माण सामाग्री (वन पैदावार) सैकडौ टिप्पर ल्याई थुपारिएकोले पनि पुष्टि भईरहेको पाईन्छ ।
यति ठूलो परिमाणमा वन क्षेत्र भित्रबाट वन पैदावार ल्याएर थुपारिनु र स्थानीय वन उपभोक्ता समिति, जिल्ला वन कार्यालय, स्थानीय वन कार्यालयका कर्मचारीहरुले थाहा नपाउनु भनेको सो कार्यमा सबैको मिलेमतो रहेको प्रष्ट बुझिएको स्थानीयबासीहरुको भनाई रहेको छ ।
नेकपा एमाले वडा नं. २ का वडाध्यक्ष हारुन खाँले दिएको जानकारी अनुसार लागत इष्टीमेट अनुसार निर्माण सामाग्री प्रयोग नगरी कमसल सामाग्रीको प्रयोग गर्ने र सोमा गाउँपालिकादेखि वन कार्यालयसम्मको मिलेमतो रहेको पूर्ण आशंका रहेको बताए ।
नरैनापुर गाउँपालिका प्रमुख ईन्जिनियर प्रदीप यादवसित यस बारे जानकारी माग्दा उनले मलाई कुनै जानकारी नभएको तथा यस बारे थप एक जना अर्को ईन्जियरसित जानकारी लिनु होला भनी गैर जिम्मेवारीपूर्ण जवाफ दिएको र अर्को ईन्जिनियरसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
वन क्षेत्रबाट ल्याइएको वन पैदावारको विषयमा वन कार्यालयले तत्काल छानबिन गरी सम्बद्ध दोषीहरुमाथि तत्काल कार्यवाही गर्नुपर्ने तथा कमसल निर्माण सामाग्रीहरु तत्काल हटाई लागत ईष्टिमेट अनुसार निर्माण सामाग्री प्रयोग गर्न स्थानीयहरुको माग रहेको छ ।
