
नेपालगन्ज, ८ माघ – नेपालगन्जमा माघ १० गते अर्थात मंगलबारबाट विधिवत रुपमा सञ्चालन हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ को तयारी भोलि सोमबारसम्म सम्पन्न गरिसक्न व्यापक रुपमा सहकर्मी तथा समिति परिचालन गरिएको छ ।
नेपालगन्जको सडक डिभिजन परिसरमा १५ दिनसम्म सञ्चालन रहने प्रदेशस्तरीय महोत्सवको तयारी साेमबारसम्म सम्पन्न गरिसक्ने आयोजकले जनाएको हो ।
स्टलमा पर्दा, लाईटको व्यवस्था, स्वागत गेट, बाल उद्यान जडान, फिल्डको सफाई, मञ्च लगायतका सजावटको कार्य भोलिसम्म सम्पन्न गरिसक्ने आयोजकको मुल समितिले जनाएको हो ।
महोत्सवमा थारुहरुको कला संस्कृतिको प्रवद्धनका लागि थारु गाँउ समेत महोत्सव परिसर भित्रै सञ्चालन हुने आयोजकले जनाएको हो । महोत्सवलाई रमाईलोको थलो, जमघट हुने थलो र व्यापार गर्न सक्ने तथा सम्भावित लक्ष्यहरु पुरा गर्न सक्ने थलोको रुपमा व्यापकता दिईदै छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र सिवालय सेक्युरिटी एण्ड मल्टी प्रपोज कम्पनी प्रा. लि.को सहआयोजनामा यहीँ माघ १० गते देखि २४ गतेसम्म महोत्सव सञ्चालन हुन लागेको हो ।
विगत केही वर्षदेखि देशमा आर्थिक संकटले व्यवसायीहरु बढी मारमा परिरहेका छन् । यसलाई मध्य नजर गरी यो महोत्वसको आयोजना गरिएको प्रचारप्रसार समितिका संयोजक भागवतप्रसाद कंडेलले जानकारी दिए ।
महोत्सवलाई थप आकर्षक बनाउन थारु होमस्टे, थारु गाउँ, टिकटक पारखीका लागि टिकटक प्वाइन्ट निर्माण लगायत प्रचारप्रसारको कार्य तीब्र रुपमा अगाडि बढाइएको नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधु खड्काले दिइन ।
महोत्सवमा करिब २ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । महोत्सवमा स्थानीयस्तरमा उत्पादित वस्तु तथा सेवालाई प्राथमिकता दिइनेछ । महोत्सवमा कृषि, पर्यटन, उद्योग, व्यापारलगायत क्षेत्रका ३ सय स्टल रहनेछ ।
