काठमाण्डौ, २५ पौष – नेपाल सरकारले भारतसँग ‘जीटुजी’ प्रक्रियाबाट खरिद गरेको ३० हजार मेट्रिक टन युरिया मल बोकेर पहिलो रेल्वे र्याक आइपुगेको छ । २ हजार ५ सय १० मेट्रिक टन मल बोकेको पहिलो रेल्वे र्याक वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौलको रेल्वे स्टेसनमा शुक्रबार बिहान आइपुगेको हो ।
कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख चन्द्र प्रसाद चौलागाईका अनुसार कोलकाता बन्दरगाहबाट चलेको उक्त रेल्वे र्याक शनिबार बिहान करिब ७ बजे रक्सौल रेल्वे स्टेसन आइपुगेको हो । अब रक्सौलबाट ट्रकमा ढुवानी गरी उक्त मल वीरगन्जसम्म ल्याइने छ ।
कुल ३० हजार मेट्रिक टन मलमध्ये २५ हजार ५ सय मेट्रिक टन रक्सौल वा वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा आउन सक्ने उनले बताए । ‘हाललाई पहिलो र्याक रक्सौल रेल्वे स्टेसनमा आए पनि दोश्रो वा त्यसपछिको र्याक सिर्सिया सुक्खा बन्दरगाहमा पनि आउन सक्छ,’ उनले भने, ‘वीरगन्ज आएको मलमध्ये ११ हजार ५ सय मेट्रिक टन मल वीरगन्ज प्रादेशिक कार्यालयले पाउने छ, त्यसपछि भैरहवा प्रादेशिक कार्यालयलाई १० हजार र बिराटनगर प्रादेशिक कार्यालयलाई ४ हजार ५ सय मेट्रिक टन ट्रकमा ढुवानी गरी पठाइने छ ।’ बाँकी मल कोलकाताबाट सोझै बिराटनर पुर्याइँदै छ ।
भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर कम्पनी (आरसीएफ) ले तेश्रो मुलुकबाट खरिद गरी कोलकाता बन्दरगाह हुँदै उक्त मल नेपाल ल्याउँदै छ । ढुवानीकर्ताले ३५ दिनभित्र सबै मल नेपाललाई बुझाउने तालिका रहे पनि निरन्तर यसै गतिमा रेलमा मल आइरहने हो भने योभन्दा कम समय लाग्ने चौलागाई बताउँछन् ।
‘जी टु जी’ को यो मल गहुँबालीका लागि केही हदसम्म उपयोगी हुने उनले बताए । पहाडी जिल्लाहरुमा ढिलो गरी गहुँ छर्ने गरिएकाले ती जिल्लाको गहुँबालीका लागि यो मल उपयोगी हुने उनले बताए ।
यस वर्ष सबै मल गहुँबालीमा प्रयोग नहुने भएकाले बाँकी मल आउँदो सिजनको चैते तथा वर्षे धानबालीका लागि पनि उपयोगी हुने उनले बताए ।