Wednesday, December 4सत्यम खबर
Shadow

धर्म निरपेक्षता खारेजी अभियानद्वारा हिन्दु राष्ट्रकाे माग

नेपालगन्ज, १९ पुष – धर्म निरपेक्षता खारेजी अभियानले नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्ने माग राखेको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत अभियानले यस्तो माग गरेको हो ।
अभियानले धर्म निरपेक्षता भएपछि मुलुकमा हत्या, हिंसा र धार्मिक द्वन्द्वपनि फैलिएको दाबी गरेको छ । संघीयता, धर्म निरपेक्षता र गणतन्त्र नेपाल र नेपाली जनताको एजेण्डा नभएको अभियानको ठहर छ । विदेशीको इशारामा यी एजेण्डा नेपालमा स्थापित गरिएको भन्दै अभियानले तत्काल खारेजीको माग गरेको हो ।
सो क्रममा अभियानले आफ्ना पदाधिकारी पनि सार्वजनिक गरेको छ । अभियानको संयोजकमा राजीव झा, सहसंयोजक डा. राजेश यादव, सचिव अमृत गिरी, कोषाध्यक्ष राजेश जलान रहेका छन् । कार्यक्रमका प्रमुख अतिथिमा पूर्व मन्त्री एवं धार्मिक अभियान्ताका संरक्षक किशोरी महतोले आफ्नो धारणा राखेका थिए ।
महतोले नेपाल देश हिन्दु धर्म सापेक्ष राष्ट्र बन्नुपर्ने बताए । देश धर्म निरपेक्ष बन्नै नसक्ने जिकिर गर्दै नेपाल हिन्दु, बौद्ध, जैन मुस्लिम सबै धर्मका लागि सापेक्ष रहेको उनको दाबी छ । साथै धर्मको पावर कति हुन्छ भनेर आफूहरुले केही महिना मै देखाइदिने पनि महतोले चुनौति दिएका छन् ।
नेपाललाई धर्म सापेक्ष राष्ट्र बनाएर हिन्दु अधिराज्य ल्याउन आफूहरु लागि परेको उनको भनाई छ । धर्म निरपेक्षता खारेजीका जस्तो सुकै चुनौति दिन पनि आफूहरु तयार रहेको अभियानका संयोजक झाले बताए । धर्म निरपेक्षताले धार्मिक द्धन्द निम्ताएको अभियानका सहसंयोजक राजेश यादवले बताए । ‘यो देशको धर्म, संस्कृति, परम्परालाई परिवर्तन गराएर पुरातन धर्म, संस्कृति समाप्त पार्न लागि परेको छ,’ उनले भने ।
नेपाल धर्म निरपेक्षता हुनु पर्छ भनेर कुनै नेपालीले नचाहेको र कही डलरवादीहरुको प्रभावमा संविधानमा यो शब्द लादिएको अभियानका सचिव गिरीले बताए । धर्म निरपेक्षताले राष्ट्रको कुनै धर्म छैन भन्ने सन्देश प्रवाह गरेको र नेपाल धर्म निरपेक्ष राष्ट्र बनेपछि हत्या, हिंसा, बलात्कार जस्ता घटना बढेको गिरीको आरोप छ ।


नेपाल हिन्दु राष्ट्र हुँदाको जस्तो धार्मिक सहिष्णुता अहिले नरहेको पनि उनले बताए । हिन्दु, बौद्ध, जैन जस्ता धर्मको प्राचीन अस्तित्व समाप्त पार्ने काम भइरहको पनि उनको आरोप छ । त्यसैगरी अभियानका कोषाध्यक्ष जलानले यो देशमा धर्म निरपेक्षताको आवश्यकता नै नरहेको बताए । नेपालमा षड्यन्त्र गरि वैदिक सनातन धर्ममाथि प्रहार गरिएको उनको आरोप छ ।
धर्म निरपेक्षताको आडमा विदेशी शक्तिहरुले चलखेल गरेको उनको आरोप छ । वैद्धिक सनातन धर्म मान्ने असी प्रतिशत भन्दा बढी नेपालीको भावनामा ठेस पुर्याएर संविधानमा धर्म निरपेक्षता लादिएको उनीहरुको आरोप छ । संविधान निर्माणका क्रममा धर्म निरपेक्षताको बारेमा संसदमा कुनै छलफल नै नगरी लादिएको र यसलाई तुरुन्त खारेजी गर्न पनि उनीहरुले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *