काठमाण्डौ, ४ पौष – पूर्वोत्तर भारतको मेघालय राज्यस्थित दुर्गम क्षेत्रमा पहिलो पटक चालकरहित हवाई उपकरण ‘ड्रोन’ मार्फत् औषधि पुर्याइएको छ । मेघालयको पश्चिम खासी हिल जिल्लाको सदरमुकामबाट २५ किलोमिटर टाढा रहेको स्वास्थ्य केन्द्रमा ड्रोनको माध्यमबाट औषधि पुर्याइएको हो ।
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका दुर्गम क्षेत्रका जनताको सुविधाका लागि ड्रोनमार्फत् औषधि पुर्याइएको राज्यका मुख्यमन्त्री कोनराड के सङ्माले जनाएका छन् ।
राष्ट्रिय स्वास्थ्य नियोगको सहकार्यमा भारतीय कम्पनी टेकइगलले औषधि पुर्याउन ड्रोन उत्पादन गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।
यसअघि दक्षिण भारतको तेलङ्गाना राज्यको विकरावाद जिल्लामा पनि ड्रोनमार्फत् १२ किलोग्राम औषधि एवम् खोप पुर्याइएको थियो । छोटो समयमा लामो दूरी तय गर्न सक्ने एवम् पहाडी इलाकामा पनि सजिलै उडान भर्न सक्ने भएकाले औषधि पुर्याउन ड्रोनको प्रयोग गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।