Monday, April 20सत्यम खबर
Shadow

सबै आयोजना सम्पन्न हुन्छन्, कसैले प्रेसरको औषधि खानु पर्दैन: मन्त्री राई

नेपालगन्ज, २९ भाद्र – भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले नेपालगन्ज-गुलरिया सडकखण्ड स्तरोन्नतिका लागि स्रोत सुनिश्चित भइसकेको र दुई महिनाभित्रै काम सुरू हुने बताउनु भएको छ । आज बुधबार नन्दनी मिल नजिकै नेपालगन्ज-गुलरिया सडक स्तरोन्नतिको शिलान्यास गर्दै मन्त्री राईले यो आयोजनामा बस्ती भएका ठाउँमा झिलिमिली पार्ने योजना पनि रहेको जानकारी दिनुभयो ।

यो सडकखण्डको भूगोलमा जोडिएका बाँके-बर्दियाका जनप्रतिनिधिहरूको दबाब र घच्घच्याइले यो आयोजना ल्याउन सफलता मिलेको मन्त्री राईको भनाई थियो । वहाँले यो कामको श्रेय पनि आफूले उनै जनप्रतिनिधिहरूलाई दिन चाहेको पनि बताउनुभयो । ‘यसको श्रेय मलाई दिनु पर्दैन। संजय गौतम जी, डम्बर जी, प्रशान्त जी, बढैयातालका प्रमुख सबैले चासो राखेर नै यो काम हुन सकेको हो’, मन्त्री राईले भन्नुभयो, आयोजनालाई द्रुत गति दिन दिनरात नभनि मिहेनत गर्ने भौतिक मन्त्रालयका सचिव, महानिर्देशक, हुलाकी सडक आयोजना प्रमुख, सडक डिभिजनका प्रमुख ज्यूहरूलाई पनि धन्यवाद ।’

भौतिक मन्त्रालय सम्हालेको २ महिना मै आफूले गरेको कामदेखि विकास विरोधीहरू अत्तालिएको मन्त्री राईको भनाइ थियो । शिलान्यास मात्र हुन्छ काम हुँदैन भनेर टिप्पणी गर्नेहरूलाई जवाफ दिँदै मन्त्री राईले बाँकेमा अर्को एक आयोजना ल्याउन लागेको उद्घोष पनि गरे । आफ्ना कामको विरोध गर्नेहरूलाई लक्षित गर्दै मन्त्री राईले व्यङ्ग्यातमक रूपमा भने, ‘नेपालगन्जलाई निर्वाचन क्षेत्र नम्बर १ हुँदै दाङसम्म जोड्ने स्तरीय बाटो पनि चाँडै बन्ने छ । तर तपाईंहरू चिन्ता नगर्नुस्, त्यसबेलासम्म निर्वाचन आचारसंहिता लागि सक्नेछ । सिलान्यास गर्न नमिल्ला, तपाईंहरूले प्रेसरको औषधि खानु पर्दैन, मुटु फुट्दैन ।’

मन्त्री राई खासगरी पूर्वमेयर धवल शमशेर राणा र उनका समर्थकहरू प्रति आक्रामक देखिएका थिए । आफूले गरेको कामलाई उनीहरूले गलत रूपमा अर्थ्याएर भ्रम सृजना गर्न खोजेको मन्त्री राईको भनाइ थियो । ‘शिलान्यास हुन्छ काम हुँदैन रे ! म सहरी विकास मन्त्री हुँदा शिलान्यास भएको भेरी अस्पतालमा नयाँ भवन बनेन र ? नेपालगन्ज सभा हल बनेन र ? नेपालगन्जमा ३९ र कोहलपुरमा १३ हाइमास्ट लाइट शिलान्यास गर्‍यौं । वाटरपार्क र चिल्ड्रेन पार्क शिलान्यास गरेको, काम भएन र ? न्यूरोडबाट २२ वटा रोड शिलान्यास गर्दा त्यो बाटो बनेन र ? कारकाँदो बाइपास रोड, बीटीएस रोड सम्पन्न भएन र ? सुरक्षित आवासका लागि ३ हजार परिवारले अनुदान पाएनन् र ?’, मन्त्री राईले पूर्वमेयर राणाप्रति ब्यङ्ग्य कस्दै भन्नुभयो, ‘लक्ष्य चाहिँ केन्द्रको राख्ने र सोच चाहिँ सानो स्तरको राख्ने ? ’

राणाले विकासका अनेकन काममा बाधा पुर्‍याएको आरोप लगाउँदै मन्त्री राईले शिलान्यास मात्र हुन्छ भन्नेलाई कामले जवाफ दिने बताउनुभयो । ‘शिलान्यास गरिएका सबै काम पूरा हुन्छन्। स्रोत र बजेटको कुरा समय आयो भने प्रमाण पनि देखाउँला’, मन्त्री राईले पूर्वमेयर राणाप्रति आक्रामक हुँदै भन्नुभयो, ‘विगतमा बागेश्वरी मन्दिर बनाउन दिनुभएन । फुलबारी मस्जिद बनाउन दिनुभएन। कोरोनाकालमा अक्सिजन नपाएर तड्पिरहेकाहरूका लागि भनेर छुट्टयाएको डेढ करोड रकम फ्रिज गराइदिनुभयो । तपाईको मानसिकता विकास गर्न नदिने हो र तपाईंको पछुवाहरूको मानसिकता पनि त्यही हो’ ।

आफू मन्त्री नभएको भए यी आयोजनाहरू नआउने पनि राईको दाबी थियो । खजुरा र गुलरियामा लामोसमयदेखि काम अलपत्र पारेका ठेकेदारहरूलाई २४ घण्टाभित्र स्पष्टिकरण सोध्न र आवश्यक परे ठेक्का समेत तोड्न भौतिक मन्त्रालयका सचिव र महानिर्देशकलाई निर्देशन पनि दिनुभएको थियो । शिलान्यास कार्यक्रममा बर्दियाका सांसद एवम् पूर्वमन्त्री संजय गौतम लगायत बाँके-बर्दियाका जनप्रतिनिधिहरूको उपस्थिति थियो ।

यसैबीच मन्त्री राईले आजै नेपालगन्ज-राँझा सडकखण्डमा बन्ने ट्राफिक सिग्नल लाइट जडान कार्यको शिलान्यास पनि गर्नुभएको छ । यी ट्राफिक सिग्नल लाइटहरू गणेशमान चोक, वीपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक र राँझा चोकमा जडान गरिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *