Tuesday, April 21सत्यम खबर
Shadow

नेपाल र चीनको संसदबीच ६ बुँदे सम्झौतामा हस्ताक्षर

काठमाण्डौ, २८ भाद्र –नेपालको संघीय संसद र जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसबीच ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ।

संघीय संसद भवन नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रमबीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो।

उक्त समझदारीपत्रमा नेपालका तर्फबाट संघीय संसदको नेतृत्व गरेका सभामुख अग्निप्रसाद सापकोटा र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चाङ्सुले हस्ताक्षर गरेका हुन्।

समझदारी अनुसार दुवै पक्षले एकअर्काको विधायकी, सुपरिवेक्षकीय र शासन सञ्चालनसम्बन्धी अभ्यासबारे जानकारी आदानप्रदान गर्ने भएका छन्।
दुई संसदबीचको समझदारी पत्रमा चीनले अघि बढाएको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ बारे पनि उल्लेख गरिएको छ।

’दुई सरकारबीच सहमति भएबमोजिम बेल्ट एण्ड रोड इनिसियटिभमार्फत समेत दुई राष्ट्रहरूबीच अन्तर आवद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिनेछन’, समझदारी पत्रको पाँचौँ बुँदामा भनिएको छ।

त्यसैगरी समझदारी पत्रमा दुवै पक्ष साझा हितको विषयमा इन्टर पार्लियामेण्टरी युनियन लगायत अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संसदीय संगठनहरुको खाका अन्तर्गत सहयोग सुदृढ गर्न सहमत भएको पनि उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *