Monday, June 22सत्यम खबर
Shadow

अमेरिकालाई रोक्न संसार घुमिरहेका वाङ यी

काठमाण्डौ, ७ भाद्र –आइरन लगाइएको कोटमा चिटिक्क परेर निरन्तर विदेश सयरमा छन्, चिनियाँ विदेश मन्त्री वाङ‍ यी। यही वर्ष मात्रै उनले मध्यएसिया र प्यासिफिक क्षेत्र र अफ्रिकाका गरी ३० मुलुकको भ्रमण गरेका छन्।

यी चिनियाँ राष्ट्रपति सी चिनफिङको विश्वकेन्द्रित महत्वकांक्षाका प्रचारक हुन्। विभिन्न देशका सरकार र राष्ट्रप्रमुखलाई भेटेर उनी सीको सन्देश सुनाउँछन्- बेइजिङलाई अमेरिकाले पछाडि धकेल्न सक्दैन।

गत महिना यीले अमेरिकी सकमक्षी एन्टोनी ब्लिन्केनसँग इन्डोनेसियामा छलफल गरेका थिए। ब्लिन्केनसँगको भेटमा यीले बेइजिङसँगको सम्बन्धमा तिक्तता आउन नदिन अमेरिका चार कुरामा प्रतिबद्ध रहनुपर्ने सुनाए।

जी-२० सम्मेलनको उत्तरार्धमा भएको भेटमा जुलाई ९ मा उनीहरूबीच बालीमा भेट भएको थियो। त्यस भेटमा यीले चीन-अमेरिकासम्बन्धलाई सुमधुर बनाउन सीले अघि सारेको तीन अवधारणामा अमेरिका प्रतिवद्ध हुनुपर्ने बताए। दुई देशको सम्बन्धबारे सीले भनेका छन्,‘आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व र विन-वीन सहकार्य नै दुई देशबीच सुमधुर सम्बन्धका आधारभूत कुरा हन्।’

ब्लिन्केनसँगको भेटमा यीले यो कुरासहित चीनसँग अनावश्यक त्रास राखेर विरोधी गतिविधि नगर्न सुझाएको ग्लोबल टाइम्सले लेखेको छ। उक्त पत्रिकाका अनुसार, चिनियाँ आग्रहलाई अमेरिकाले अस्वीकार गरे दुई मुलुकबीचको सम्बन्धमा गतिरोध पैदा हुने चेतावनी यीले दिएका थिए।

बदलिँदो विश्व व्यवस्थामा आफ्नो स्थान कोर्न चीन लागि परेको छ। कोरोना महामारीपछि सीले विदेश भ्रमण गरेका छैनन्। सीको सन्देशलाई विश्वमाझ पुर्‍याउने परिचित अनुहार बनेका छन् विदेश मन्त्री यी। अमेरिका र उसका सहयोगीविरूद्ध मात्रै नभई विश्वकै नेतृत्व चीनले नै गर्ने उनी बताउँछन्।

रूस र युक्रेन द्वन्द्वपछि बेइजिङले युरोपलाई बेवास्ता गरेको छ। विभिन्न क्षेत्रका ३० मुलुक पुगेका यी युरोप पुगेका छैनन्। रूससँग मैत्रीपूर्ण सम्बन्ध रहेकाले पनि बेइजिङले युरोपलाई बेवास्ता गरेको बुझ्न सकिन्छ। चाहे ताइवान मामिलामा पश्चिमाहरूको आलोचना होस् वा मुस्लिम अल्पसंख्यकबारे गरिएका टिप्पणी, यी पश्चिमाहरूप्रति कठोर अडानका मानक हुन्। चीनका मुस्लिम अल्पसंख्यकप्रति गरिएको दमनबारे पश्चिमाहरूले आवाज उठाउने गरेका छन्। पश्चिमा आलोचनाविरूद्ध बाँध बनाउनका निम्ति यीले मुस्लिम राष्ट्रहरूसँग बेइजिङको सहकार्य अघि बढाइरहेका छन्।

जो बाइडेन राष्ट्रपति भएपछि चिनियाँ विदेश मन्त्री यी एक पटक मात्रै अमेरिका पुगेका छन्। गत वर्षको मार्चमा अमेरिकी समकक्षी ब्लिन्केनसँग यीले छलफल गरेका थिए। त्यस छलफलमा अमेरिकाको तर्फबाट आर्थिक, प्रविधि, वातावरण तथा उत्तर कोरियाको आणविक हतियार व्यवस्थापनलगायत विविध विषयमा सहकार्यको प्रस्ताव अघि सारिएको थियो। चीन सहकार्यको सबै प्रस्ताव अस्वीकार गर्दै फर्कियो। यो भेटबारे संयुक्त वक्तव्य समेत जारी भएन।

उक्त भेटको २४ घन्टाअघि हङकङको स्वतन्त्रताविरूद्ध गतिविधि गरेको भन्दै अमेरिकाले २५ चिनियाँ अधिकारीलाई प्रतिबन्ध लगाएको थियो। त्यो निर्णयमा चिढिएका यीले सकमक्षी ब्लिन्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलाई भनेका थिए,‘पाहुनालाई स्वागत गर्ने यो तरिका ठीक भएन।’

यीको गतिविधि हेर्दा लाग्छ, एउटा कुनामा चीन र अर्को कुनामा अमेरिकालाई राखेर बेइजिङ एसियाका निम्ति लड्दैछ। उनीसँगको कूटनीतिक वार्तामा सहभागी सिंगापुरका पूर्वविदेश सचिव बिलहरी कौशिकन भन्छन्, ‘एसियाको समस्या एसियाले नै समाधान गर्नुपर्छ भन्ने चिनियाँ तर्क छ। एसियाका निम्ति अमेरिका अविश्वासिलो समस्या निर्माता हो भन्ने उसको बुझाइ छ।’

चिनियाँ राष्ट्रपति सीले पनि सन् २०१४ मा यस्तै अभिव्यक्ति दिएका थिए। ‘एसियाका मामिला एसियाली जनताको हातमा हुनुपर्छ,’ उनले भनेका थिए।

सीको त्यसबखतको दस्तावेजमा अमेरिकालाई एसियामा समस्या सिर्जना गर्ने लुप्त शक्तिका रूपमा व्याख्या गरिएको थियो।

‘शक्तिका आधारहरू सधैँ उस्तै रहँदैनन्। यस क्षेत्रको सबैभन्दा ठूलो अर्थतन्त्रको हिसाबले चीनले अन्य राष्ट्रहरूमा प्रभाव बढाउन खोजेको देखिन्छ,’ कौशिकनले भने।

सीका केही गतिविधिले पनि यस्तै दर्शाउँछ। गत महिना उनले इन्डोनेसियाका राष्ट्रपति जोको व‍िडोडोलाई फोन गरेर बेइजिङ बोलाए। इन्डोनेसियाका नेताहरूले सीको आमन्त्रणलाई सम्मानका रूपमा लिएका छन्। ब्लुमबर्ग न्युजसँगको संवादमा जोकोले नोभेम्बरमा हुन लागेको जी-२० समिटमा सी र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने खुलाए।

विदेश मन्त्रीका रूपमा लामो समय काम गरेका व्यक्ति हुन् यी। उनी सन् २०१३ मा नियुक्त भएका थिए। उनी जापानका लागि चिनियाँ राजदूत पनि भएका थिए। उनी राजदूत भएको समयमा बेइजिङले जापानसँगको सम्बन्ध सुधार गर्ने खोजेको थियो। उनी जापानी भाषामा पोख्त छ्न् र जापानका व्यापारिक घरानासँग उनको राम्रो दोस्ती छ।

यीबारे सिटस्मन सेन्टरमा चिनियाँ कार्यक्रमका निर्देशक यु सुन भन्छ्न, ‘उनी निकै भद्र थिए, योद्धा जस्ता देखिन्नथे। विदेश मन्त्री भएपछि उनको व्यक्तित्व पूर्ण रूपमा फेरियो।’

चिनियाँ कूटनीतिज्ञमा लडाकु शैली देखिनुमा सीको चेतावनीले काम गरेको छ। हङकङमा कम्युनिष्ट शासनविरूद्ध आन्दोलन चर्किएपछि सीले आफ्ना कूटनीतिज्ञहरूलाई योद्धाको भावना जगाउन भनेका थिए। सीको यस भनाइको कार्यान्वयन यीले गरिरहेका छन्।

चीन र रूसको सम्बन्ध अहिले झाँगिदो छ। राजनीतिक संवेदनशीलताका कारण नाम गोप्य राख्न चाहेका चिनियाँ कूटनीतिज्ञका अनुसार रूससँगको पक्षधरताका विषयमा सबैभन्दा बढी सन्देह गर्नेमा यी थिए। विगतमा सन्देह गर्ने उनै यी अहिले दुई मुलुकबीचको सम्बन्धको कट्टर समर्थक हुन्।

कम्बोडियामा हालै भएको एउटा सम्मेलनमा यीले चीन-रूस सम्बन्धका विषयमा कुरा राखे। जब जापानी विदेश मन्त्रीले सम्मेलनलाई सम्बोधन गर्न उभिए, योजनावद्ध तरिकाले यी रूसी समकक्षी सर्गेई लाब्रोभसँग हलबाट बाहिरिए।

‘रूस र चीन दुबै साझा दृष्टिकोणसहित सहकार्यमा अघि बढिरहेका छन्। एक-अर्काका निहित स्वार्थबारे उनीहरू जानकार छन्। त्यसैले युक्रेन मामिलामा चीन र ताइवान मामिलामा रूसले एक-अर्कालाई साथ दिइरहेका छन्। त्यस सम्मेलनमा यीले चीन र रूसको मित्रताका विषयमा इशारा गरेका हुन्,’ अक्सफोर्ड विश्वविद्यालयका चिनियाँ इतिहास र राजनीतिका प्राध्यापक रना मिट्टरले भने।

आफ्नो शासनको सुरूमा सीले अफ्रिकन मुलुकमा लगानी गर्दै सम्बन्ध अघि बढाए। विदेश मन्त्रीको सामान्य सरोकारमा नरहने अफ्रिकन क्षेत्रमा यीको असामान्य उपस्थिति छ। गत मार्चमा उनी ऋण तिर्न संघर्षरत जाम्बिया पुगे। त्यसको दुई महिनापछि राष्ट्रपति हकाइन्दे हिचेलेमासँग चीनले ६ अर्ब डलर ऋणमा सहुलियत दिने प्रस्ताव अघि सार्‍यो। जाम्बियाले लिएको ऋण सम्झौताका शर्तमा पुनर्विचारका लागि चीन सहमत पनि देखियो।

यस्ता सहमतिको स्वार्थ प्रष्ट छ: यी एसिया-प्रशान्त क्षेत्रबाट अमेरिकालाई परै राख्न चाहन्छन्। गत मेको अन्त्यतिर यी फिजी पुगेका थिए। त्यहाँ पुगेर उनले साझा विकास दृष्टिकोण कार्यक्रमअन्तर्गत सोलोमन द्वीपमा वाणिज्य तथा सैन्य प्रयोजनका निम्ति बन्दरगाह निर्माण गर्ने प्रस्ताव अघि सारे।

फिजीले त्यस प्रस्तावलाई स्वीकार गरेन।

‘सबै ठाउँमा पुगेर शक्तिको आडमा झुकाउने कोशिशमा चीन छ। तर चीनले बुझ्नुपर्छ पैसा मात्रै सबैथोक होइन,’ यीको फिजी भ्रमणबारे समाचार सम्प्रेषण गरेका पत्रकार डोरोथी विकह्याम भन्छन्।

चीनको कूटनीतिक रणनीतिमा अनिश्चितता छ तर पनि वाङले आक्रामक रूपले अघि बढाइरहेका छन्।

एक वर्षअघि अफगानिस्तानबाट फर्किने निधो अमेरिकाले गरेको थियो। यो आफ्नाका लागि अवसर हो वा टाउको दुखाइ भन्नेमा चीन अलमलमै देखिन्थ्यो। गत मार्चमा विदेश मन्त्री यी काबुल पुगे र तालिबानसँग सम्बन्ध विस्तार गर्न खोजे। अफगानिस्तानका आन्तरिक मामिला मन्त्री सिराज हक्कानीसँग उनले एक्लाएक्लै छलफल गरे।

चीनको उद्देश्य स्थिर अफगानिस्तान र त्यहाँ रहेका उइगुर मुस्लिमको चीन फिर्ती रहेको एसिया प्यासिफिक अनुसन्धान समूहमा सुरक्षा निर्देशक सजन गोयल बताउँछन्।

चीनको माग अनुसार उइगुरलाई फिर्तीको विषयमा तालिवान तयार देखिएन।

‘हक्कानीले चीनको भन्दा पनि आफ्नै वैचारिक र रणनीतिक स्वार्थअनुसार अघि बढ्ने संकेत गरे। वाङ यी र बेइजिङका निम्ति यो वार्ता अलि पीडादायी नै रह्यो,’ गोयलले भने।

(न्युयोर्क टाइम्समा प्रकाशित सामग्रीको भावानुवाद।) एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *