
काठमाण्डौं, १४ साउन – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तिब्र बनाउन निर्देशन दिनुभएको छ । निर्धारित मितिमै प्रतियोगिता संचालनकालागि हरेक दिन छलफल तथा अन्तरक्रिया गरीरहनुभएका मन्त्री अथकले शुक्रबार युवा तथा खेलकुदसँग सम्बन्धित विषयगत समितिको वैठक बोलाएर युद्धस्तरमा प्रतियोगिताको तयारीमा जुट्न निर्देशन दिनुभएको हो ।

नवौं राष्ट्रिय प्रतियोगितालाई केन्द्रमा राखेर आयोजना गरीएको बैठकले विभिन्न पाँच बुँदे निर्णय पारीत गरेको छ । सिंहदरबारस्थित मन्त्रालयको हलमा सञ्चालन गरीएको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तथा प्रभावकारीताकालागि हरेक प्रदेशमा आवश्यकता र उपलब्धताका आधारमा प्रशिक्षक तथा जनशक्ति उपलब्ध गराउने निर्णय गरेको छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि प्रदेशमा विनियोजित बजेट अपुग देखिएकाले प्रदेशको आवश्यकता अनुसार अर्थ मन्त्रालयसँग थप बजेट माग गर्नुकासाथै विषयगत समितिको गत चैत्र ११ गते बसेको पहिलो बैठकले गरेका १४ बुँदे निर्णयको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायले पहल गर्ने निर्णय समेत गरीएको छ ।

त्यसैगरी सबै प्रदेशका खेलकुदसँग सम्बन्धित मन्त्रालय, प्रदेश खेलकुद परिषद/बोर्ड तथा खेलकुद सँग सम्बन्धित संघ संस्थाले आ–आफ्नो क्षेत्रबाट प्रतियोगितामा सहभागीता जनाउनुका साथै समन्वय र सहजीकरणमा समेत सहयोग गर्ने निर्णय भएको छ ।
बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुल आयोजक समितिमा सात वटै प्रदेशका युवा तथा खेलकुद मन्त्रालयका मन्त्रीहरुलाई समावेश गर्ने निर्णय गरेको छ ।
