Thursday, April 23सत्यम खबर
Shadow

बाँके भलिबलको नेतृत्वमा चन्द

नेपालगन्ज, ८ असार – बाँके जिल्ला भलिबल संघको अधिवेशनले चिरन्जीवी चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । बुधवार भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । चन्द यसअघि उपाध्यक्ष थिए ।

संघको उपाध्यक्षमा रीता कोइराला, महासचिव यमनारायण महतो, कोषाध्यक्ष सुमनसिंह बस्नेत सर्वसहमत निर्वाचित भएका छन् । सदस्यहरुमा पुर्ण खत्री, चन्द्र राना, डिबी तामाङ, डिबी बस्नेत र मनिराम बटाला निर्वाचित भए । प्रदेश प्रतिनिधिमा कृष्णा पाठक र यमबहादुर महतारालाई चयन गरेको छ ।

नेपाल भलिबल संघका सचिव एवं केन्द्रिय प्रतिनिधि भिम ओलीको बिशेष उपस्थिति तथा लुम्बिनी खेलकुद परिषदका कार्यकारी सदस्य नरेन्द्र थापाको बिशेष आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो । उक्त अधिवेशन भेलामा पुर्व अन्तर्राष्ट्रिय रेफ्री अजितकुमार शर्मा, पुर्व अग्रज खेलाडी एवं प्रशिक्षक लालबहादुर मल्ल, राजेश श्रीवास्तव र रोशन श्रेष्ठको उपस्थिति थियो ।

जिल्ला संघमा दुई जना उपाध्यक्ष रहने प्रावधान छ । नेपाल भलिबल संघको विधान बमोजिम अध्यक्ष चन्दले दोस्रो उपाध्यक्ष मनोनयन गर्नेछन् । साथै बाँकी सदस्यहरु कार्यसमितिले मनोनयन गर्नेछ । दुई जना सदस्य जिल्ला खेलकुद विकास समितिले पठाउनेछ । नवनिर्वाचित अध्यक्ष चन्दले अघिल्लो कार्यसमितिले गरेका सम्पुर्ण आर्थिक पक्षका साथै सबै कामको अपनत्व ग्रहण गरी नयाँ ढंगले संघलाई अगाडि बढाउने बताए ।

नेपाल भलिबल संघका केन्द्रिय सचिव भिम ओलीले बाँके जिल्लाले गरेका कामलाई केन्द्रले उच्च मुल्यांकन गरेको बताए । पुर्व अन्तर्राष्ट्रिय रेफ्री अजित शर्माले पछिल्लो पुस्ताले जिल्लामा गरेको गतिविधिले आफुहरुलाई गौरवबोध गराएको विचार राखे । ‘कुनै समय राष्ट्रिय एरिनामा बाँकेको बेग्लै पहिचान थियो, दबदबा थियो ।’

उनले भने–‘पछिल्लो पुस्ताले निकै सक्रियता देखाएको छ, फेरि त्यो लयमा समात्ने आशा गर्दछौं ।’ करिब एक दशक नेतृत्वमा रहेका टीएस ठकुरीले औपचारिक रुपमा भलिबलको सम्पुर्ण जिम्मेवारीबाट अलग्गिने निर्णय लिएको घोषणा गरे । यद्यपी भलिबलको अभियानमा आफु दृढ रहेको पनि उनले बताए । बाँके जिल्ला भलिबल संघको महत्वाकांक्षी कार्यक्रम प्रधानमन्त्री कप महिला भलिबल विगत आठ बर्षदेखि निरन्तर आयोजना हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *