Wednesday, April 22सत्यम खबर
Shadow

खेलाडीलाई सम्मानगर्ने संस्कारको विकास गरौं : मन्त्रीअथक

काठमाण्डौं, ८ असार – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले खेलाडीहरुलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताउनु भएको छ । मंगलबार ओलम्पिक दिवस २०२२ को अवसरमा काठमाण्डौंमा आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री अथकले पुराना खेलाडीहरुलाई सम्मान गर्दै नयाँ खेलाडीहरुलाई प्रोत्साहन गर्ने संस्कारको विकास गर्नुपर्ने बताउनु भएको हो ।


नेपाल ओलम्पियन संघले आयोजना गरेको ओलम्पियनहरु बीचको पुनर्मिलन कार्यक्रममा मन्त्री अथकले ईतिहास बोलेका खेलाडीहरुलाई राज्यले उचित सम्मान दिन नसकेको भन्दै दुख समेत ब्यक्त गर्नु भयो । राज्यले खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक रहेको उल्लेख गर्दै मन्त्री अथकले भन्नुभयो, “यो भन्दा तपाईहरुलाई आश्चर्य लाग्छ होला, तर सिंहदरबार खेलकुदप्रति सकारात्मक छैन ।”
खेलकुदसँग सम्बन्धित फाईल रोक्नुलाई सिंहदरबार भित्र ठुलो उपलब्धीका रुपमा लिने गरीएको जिकिर गर्दै मन्त्री अथकले काम गर्न खोज्दा आफु र आफ्नो मन्त्रालयले ११ वटा भन्दा बढि मुद्धा खेप्नु परेको बताउनु भयो ।


यद्यपी विभिन्न समस्याका बिच नेपाली खेलकुद क्षेत्रको विकासमा पछिल्लो समय धेरै सरकारात्मक प्रयासहरु भएको मन्त्री अथकले दावी गर्नु भयो । विश्वको उदाउँदो अर्थतन्त्रका रुपमा रहेको खेलकुदलाई उद्योग तथा आर्थिक क्षेत्रका रुपमा विकास गर्ने मन्त्रालयको सोच रहेको मन्त्री अथकको भनाई थियो ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनितिका रुपमा समेत विश्वमा खेलकुदलाई लिने गरीएको उल्लेख गर्दै मन्त्री अथकले नेपालले समेत खेल कुटनितिमार्फत अन्तर्राष्ट्रिय सहयोग जुटाउने प्रयास गरीरहेको बताउनुभयो ।
उहाँले पालिका र प्रदेश सरकारले खेलाडी उत्पादनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । “हामीले ग्रास रुट लेभलबाटै खेलाडी उत्पादनमा जोड दिनुपर्छ” मन्त्री अथकले भन्नुभयो, “प्रतियोगिताको समयमा मात्र खेलाडी खोज्ने अरु बेला मतलव नगर्ने प्रवृत्तिले नयाँ खेलाडी उत्पादन तथा पुराना खेलाडीहरुको ब्यवस्थापनमा समस्या देखिएको छ ।”
मन्त्री अथकले ओलम्पीक तथा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका ऐतिहासिक खेलाडीहरुको सम्मानमा खेलकुद संग्राहलय बनाउनु पर्नेमा समेत जोड दिनु भएको थियो ।
कार्यक्रममा सन् १९६४ को टोकियो ओलम्पिकदेखि २०२० सम्म नेपालबाट ओलम्पिक खेलेका १२ जना ओलम्पियनहरुलाई सम्मान समेत गरीएको थियो । सम्मानित हुने ओलम्पियनमा बक्सिङका नामसिंह थापा, रामप्रसाद गुरुङ, उमेश मास्के, रविराज थापा, नरेन्द्र पोमा, एथलेटिक्सका वैकुन्ठ मानन्धर,जीतबहादुर केसी, भक्तबहादुर सापकोटा, लक्ष्मण बस्नेत, रघुराज वन्त, मुकुन्दहरि श्रेष्ठ र भारोत्तोलनका राजेन्द्र प्रधान रहेका छन् । नेपालबाट अहिलेसम्म समर ओलम्पिकमा ८४ र युथ ओलम्पिकमा ४ गरि कुल ८८ जना खेलाडीले ओलम्पिकमा सहभागीता जनाई सकेका छन । जसमध्ये ९ ओलम्पियनको निधन भईसकेको छ ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक), राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, महानायक राजेश हमाल, कलाकार मदनकृष्ण श्रेष्ठ लगायतका उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *