
नेपालगन्ज, १ असार – नेपालगन्जको सदभावलाई बिथोल्न केही तत्वहरु लागि परेको हाल अभाष भईरहेको नेपालगन्जबासीहरुको भनाई रहेको छ । केही दिन अगाडी भारतीय मिडियाको एउटा च्यानेलमा भारतीय जनता दलकी प्रवक्ता नूपुर शर्माले डिबेडका क्रममा मुस्लिम धर्मावलम्बीहरुको अन्तिम सन्देष्टबारे अभद्र टिप्पणी गरेको विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।

सोही विषयलाई लिएर नेपालगन्जमा बसोबास गर्ने मुस्लिम धर्मावलम्बीहरुले गत शुक्रबार प्रवक्ता नूपुर शर्मा तथा नेपालगन्ज निवासी राजेश जलान ‘विद्रोही’लाई कानुनी कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका थिए । त्यस लगत्तै सार्वजनिक सञ्चालमा नूपुर शर्मा र राजेश जलान ‘विद्रोही’ को स्पोर्टमा स्टाटसहरु जारी हुन शुरु भयो । सो प्रक्रिया रोक्न, सामाजिक सद्भाव कायम राख्न जिल्ला प्रहरी कार्यालय बाँकेद्वारा सार्वजनिक सूचना नै जारी गरिएको छ । सोही विषयलाई लिएर बुधबार विश्व हिन्दु परिषद र नेपाल शिवसेनाले प्रवक्ता नूपुर शर्मा र राजेश जलान ‘विद्रोही’लाई स्पोर्ट गर्न हिन्दू धर्मावलम्बीहरुको शान्तिपूर्ण तवरले ¥याली निकालेका छन् । शान्तिपूर्ण रुपमा निकालिएको ¥यालीमा जय श्रीराम, नूपुर शर्मा र राजेश जलान ‘विद्रोही’ हामी साथमा छौ, हिन्दु सनातनी एक हौ, जस्तो नारासहित जिल्ला प्रशासन कार्यालय गेट अगाडी पुगेर ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्रमा ‘उपरोक्त सम्बन्धमा केही दिन अगाडी भारतमा एउटा टेलिभिजन छलफल कार्यक्रमको दौरान भारतीय जनता पार्टीको प्रवक्ता नूपुर शर्माद्वारा इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदका बारेमा गरेका आपत्तिजनक टिप्पणीलाई विषय बनाएर भारतका मुस्लिम समुदाय विगत केही दिन देखि नूपुर शर्मालाई कार्यवाही गर्नका लागि आन्दोलनरत भएको सबैलाई थाहा भएकै विषय हो । यस सम्बन्धमा भारतीय जनता पार्टीले नूपुर शर्मालाई पार्टीबाट निस्काशित गरि स्थानिय कानुन बमोजिम मुद्दा समेत दर्ता भएको अवस्थामा त्यही विषयलाई लिएर नेपालगन्जका मुस्लिम समुदायद्वारा नेपालगन्ज निवासी राजेश जलानले पनि इस्लाम धर्म बारे केही आपत्ति जनक सामग्री सामाजिक सञ्जालमा शेयर गरेको विषयलाई लिएर निज राजेश जलानलाई फासीका साथै टाउको काट्ने लगायत तमाम उत्श्रृंखल नारा लगाउदै जुलुश नगर परिक्रमा गरि नेपालगन्जको सम्प्रादायिक सद्भावलाई बिथोल्ने प्रयास गरिएको सम्बन्धमा यहाँका बहुसंख्यक हिन्दु समाजको गम्भीर ध्यानाकर्षण भएको छ । हामीले यस्ता कृतलाई धर्म विरोधी र राष्ट्र विरोधी कृतको रुपमा लिएका छौं र यस्ता कुकृत्यको घोर निन्दा एवं भत्सर्ना गर्दछौं । मुस्लिम राष्ट्र पाकिस्तान, बंगलादेश एवं अफगानिस्तानमा अल्पसंख्यक रहेका हिन्दुहरु एवं तिनका धार्मिक स्थलहरु माथि श्रृंखलाबद्ध पटक–पटक आक्रमण भई रहेको सर्व विदित्तै छ तर कहिल्यै पनि यस्ता मानवता विरोधी कृत्यको मुस्लिम समाजद्वारा कहिल्यै विरोध गरिएन’ भनी उल्लेख गरिएको छ ।

अगाडि लेखिएको छ ‘यहाँसम्म की भारतमा चलिरहेको आन्दोलनको क्रममा झारखण्ड राज्यमा मन्दिरहरु माथि समेत आक्रमण गरिएको छ । त्यसकारण जसरी इस्लाम धर्मको नाममा विश्वका सबै मुसलमान एक हुन्छन् भने हिन्दु धर्म माथि विश्वमा कहि पनि आक्रमण हुँदा हामी विश्वका सबै हिन्दुहरु माथि गरिएको आक्रमण रुपमा हामीले बुझ्ने छौं । अतः विदेशमा भएका घटना परिघटनालाई विषय बनाएर नेपालको धार्मिक सदभाव बिथोल्ने खालका कुनै पनि कार्यको अनुमति कहि कतैबाट दिनु र गरिनु हुँदैन’ भनी उल्लेख गरिएको छ ।

‘राजेश जलान र उनको परिवारलाई नियोजित रुपमा गाली गलौज, धाक धम्की कहि कतैबाट हुनु हुँदैन । उक्त सम्बन्धमा न्यायिक प्रक्रिया अनुसार छानबिन गरि सत्य तथ्य बाहिर ल्याउनका लागि समेत हिन्दु समुदाय जोरदार रुपले मांग गर्दछ’ भनी विश्व हिन्दु परिषद नेपालका अध्यक्ष बृजेशबहादुर सिंह तथा नेपाल शिवसेनाका अध्यक्ष राजकुमार रौनियारको संयुक्त हस्ताक्षर गरी प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाईएको छ ।
