
डुडुवा, २० जेष्ठ – नेपाल राष्ट्रिय शिक्षक संगठन बाँके शाखाद्वारा जिल्ला प्रशासन कार्यालय बाँकेलाई ज्यू ज्यानको सुरक्षा ग्यारेण्टीका लागि ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्रमा जेष्ठ १८ गते नेपाल राष्ट्रिय संगठन बाँके जिल्ला समितिका सचिवालय सदस्य तथा आधारभूत विद्यालय डुडुवा–१ चौफेरीमा कार्यरत शिक्षक श्री भूपेन्द्र रेग्मीलाई आफ्नै विद्यालयबाट घर फर्कने क्रममा डुडुवा–१ होलिया पिपरहवा भन्ने स्थानमा बाटो रोकी आफ्ना सहयोगी हुलहुज्जतका साथ डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बिनाकारण धाक धम्की दिंदै तलाई मारी दिन्छु, तलाई मेरो असली रुप देखाई दिन्छु, मान्छे लगाएर मारी लाश गायब बनाई दिन्छु भनी दिएको ज्यानमार्ने धम्कीले नेपाल संविधानमा व्यवस्था भएका मौलिक हक, न्यूनतम मानवअधिकार, बहुलवाद जस्ता कुराको ठाडो उल्लेघन भएको उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा अगाडी भनिएको छ रक्षक नै भक्षक भईदिंदा आम शिक्षकले त्रसित मानसिकतामा बस्नु पर्ने अवस्था श्रृजना भएकोले यस घटनाले सिंगो संगठन तथा शिक्षक जमातलाई आतंकित र आक्रोशित बनाएको छ । जनताको मतबाट निर्वाचित जनप्रतिनिधिले यस हदसम्मको कार्य गरी कानुनको ठाडो उल्लंघन गर्दा, के नेपालमा न्यायको शासनको व्यवस्था नरहेकै हो ? प्रश्न श्रृजना भएको छ । दोषीलाई कानुनी कठघरामा ल्याई निज शिक्षकको ज्यू ज्यानको सुरक्षाको ग्यारेन्टी गरि अब उप्रान्त शिक्षकलाई यस प्रकारका व्यवहार नहुने व्यवस्थाको सुनिश्चितताको लागि यो ज्ञापन पत्र श्रीमान समक्ष पेश गर्दछौ भनी संगठनका अध्यक्ष रेखा धिताल तथा सचिव बाबुराम अधिकारीद्वारा हस्ताक्षर गरिएको व्यवहोरा ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

