
नेपालगन्ज, १२ जेष्ठ – भेरी प्रादेशिक अस्पतालको प्रांगणमा सञ्चालित अंजनी माता रसोइ घरले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत तथा अभिनन्दन गरेको छ ।
बिहिवार अंजनी माता रसोइले भेरी प्रादेशिक अस्पतालको प्रांगणमा आयोजित गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा बोल्दै नवनिर्वाचित नगर प्रमुख प्रशान्त विष्टले, “अन्जनी माता रसोइले कोभिड-१९ संक्रमणको बेला जुन प्रकारले अस्पतालका कुरूवा, बिरामीदेखि सर्वसाधारण समेतलाई २० रुपियाँमा खाना खुवायो यसको प्रशंसा यहाँ मात्र होइन देश विदेशसम्म भएको छ । यसको पहिचान यहिंसम्म छैन बरु देश विदेशसम्म भएको छ ।”
“यसलाई उपमहानगरले जति सहयोग दिँदै आएको थियो अब त्यसकाे दोब्बर आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता प्रकट गर्दछु । अंजनी माता रसोइबाट २४–२५ वटा जिल्लाका व्यक्तिले प्रत्यक्ष रुपले लाभ लिएका छन् । अब कसैलाई भोकै पेट बस्न नपरोस् यहि यसको उद्देश्य रहेको बताउनुभयाे ।”

त्यस्तै नवनिर्वाचित नगर उपप्रमुख कमरुद्दीन राईले,- “उपमहानगरपालिकाले रसोइलाई जति सहयोग गरेको छ त्यो अपुग छ, यसलाई सहयोगी दाताले अझ सहयोग पुर्याउनुपर्ने आव्हान गर्दै उनले प्रत्येक वडा समितिले ५०/५० हजार रकम रसोइलाई वार्षिक उपलब्ध गराउने आग्रह गर्दै मुस्लिम समुदायलाई रसोइलाई सहयोग गर्न अनुरोध गरे ।”

उक्त स्वागत तथा अभिनन्दन कार्यक्रम व्यापारी तथा समाजसेवी कन्हैयालाल वैद्यको अध्यक्षतामा सम्पन्न भएको थियो । जसमा समाजसेवी तथा उद्योगपति प्रदीप छाजेड, बृजेशबहादुर सिंह, मधेशी आयोगका अध्यक्ष विजय गुप्ता, अंजनी माता रसोइका प्रबन्धक जितेन्द्रसिंह ठाकुर, वडा नं. ३ का वडाध्यक्ष अयुब सिद्दीकी, ६ नं. का वडाध्यक्ष समिरप्रताप सिंह, वडा नं. ८ का वडाध्यक्ष रजनीश बाजपेयी, वडा नं. २३ का वडाध्यक्ष जब्बार अलि बेहना लगायतलाई फुलमाला, गम्छासहित मायाकाे चिनाे प्रदान गरि सम्मान गरिएकाे थियाे ।









