
डुडुवा, २७ बैशाख – नेपाली काँग्रेसका तर्फबाट डुडुवा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार नरेन्द्रकुमार चौधरी पप्पुले डुडुवाका जनताले फेरि पनि काँग्रेसलाई चाहेकाले पाँच बर्षको अनुभव बोकेर आफूहरु फेरि चुनावमा होमिएको बताएका छन् ।
आज डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनीमा आयोजित बृहत् चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले पाँच बर्षमा आफ्नो नेतृत्वको टिमले गरेको काम जनताले देखेका कारण फेरी पनि डुडुवाबासीले आफूहरुलाई नै जिताउने संकल्प लिइसकेको चौधरीको भनाई छ ।

“काँग्रेसले गरेका काम देखेर प्रतिष्पर्धीहरु आत्तिएका छन्, मनगढन्ते कुरा गरेर जनतालाई दिग्भ्रमित पार्ने दुस्साहस भएको छ, तर, मलाई थाहा छ डुडुवाका जनताले सबै कुरो राम्रोसँग बुझेका छन्,“ चौधरीले भने– “तपाईंहरुले फेरि पनि आफ्नो अन्तरआत्मालाई सोधेर विवेक प्रयोग गर्नुहोस्, आफ्ना वास्तविक सेवकलाई चिनेर मतदान गर्नुहोस् ।”

चौधरीले डुडुवाका जनतालाई भ्रममा राखेर आफ्नो निहित स्वार्थ पूरा गर्ने समूह अस्वस्थ ढंगले प्रस्तुत भएको भन्दै त्यस्ता पात्र र प्रबृत्तिलाई बेलैमा पहिचान गर्न सजग बताए । वितेको पाँच बर्षमा सम्पन्न गर्न बाँकी काम र नयाँ योजनाहरु मार्फत् डुडुवालाई अझ विकसित र समृद्ध बनाउन आफूहरुको उम्मेदवारी रहेको उनको भनाई छ ।
उपाध्यक्षकी उम्मेदवार शाहिदा बानोले जनताले पाँच बर्ष आफूहरुको काम हेरिसकेकाले जनतालाई निर्णय गर्न कुनै गाह्रो नहुने बताइन् । रुख चिन्हमा छाप लगाई काँग्रेसका सबै उम्मेदवारहरुलाई जिताउन उनले आग्रह गरिन् ।
