
काठमाण्डौ, ९ बैशाख – विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको सम्पन्न चौथो राष्ट्रिय अधिवेसनले नयाँ कार्यसमिति चयन गरेको छ । उक्त अधिवेसनले १८ सदस्यीय नेपाल शाखा कार्यसमिति गठन गरेको हो ।
नेपाल शाखाकी निवर्तमान अध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’ कै नेतृत्वमा गठन गरिएको उक्त समितिको वरिष्ठ उपाध्यक्षमा केशु पोखरेल खनाल, उपाध्यक्षमा सीता विष्ट कार्की, महासचिवमा अम्बिका याम्फु ‘अनमोल’, सचिवमा कृष्ण के.सी., कोषाध्यक्षमा बसु श्रेष्ठ र सहसचिवमा गंगा आचार्य सापकोटा रहनु भएको छ ।

त्यसैगरि सदस्यहरु शुभद्रा धिमिरे, कल्पना चाम्लिङ्ग, दिपा नेपाल, विमला अधिकारी देवकोटा, रजनी शर्मा, ढुण्डिराज ढकाल, रीता खतिवडा, यमनाथ सुवेदी, गङ्गाराम ढकाल, लेकप्रसाद प्याकुरेल र मुना सिग्देल रहनु भएको छ ।
यस अघि विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको चौथो राष्ट्रिय अधिवेसनको उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा. डा. जगमान गुरुङले विभिन्न काम र राजगारीको सिलसिलामा विदेश गएका नेपाली साहित्यकारहरुले आफ्नो सिर्जनाको माध्यमबाट नेपाली भाषा, साहित्य, संस्कृति र कलाको प्रचार गरेर नेपाल र नेपालीलाई विश्व सामु चिनाउन ठुलो योगदान दिएको बताउनु भयो ।
उक्त कार्यसमितिको चयनका लागि अधिवेसनले प्रतिमा शर्माको संयोजकत्वमा मणिराम सिंह र ऋषिराम सापकोटा सदस्य रहेको निर्वाचन मण्डल गठन गरेको थियो ।

प्रमुख अतिथि प्रा.डा. गुरुङले विश्व नेपाली साहित्य महासंघ जस्ता साहित्यिक संस्था नै गठन गरेर विश्व सामु नेपाली साहित्यलाई चिनाउन महत्वपूर्ण काम गरेकोमा सराहना गर्नुभयो । उहाँले सबैले आ–आफ्नो क्षेत्रबाट योगदान दिएर नेपाललाई समृद्ध गराउन लाग्नु पर्ने बताउनु भयो ।
सो अवसरमा अध्यक्षको आसनबाट विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’ले करीब तीन दर्जन विभिन्न मुलुकमा शाखा रहेको महासंघको शाखाहरुले आफ्नो सिर्जनाको माध्यमबाट विश्व सामु नेपाली साहित्यलाई चिनाउने काम गरेको बताउनु भयो ।
उहाँले नेपालका सात वटै प्रदेशमा प्रदेश कमिटी विस्तार गरिएको चर्चा गर्दै २०७६ साल साउनमा गठन भएको नेपाल शाखाले कोरोना महामारीका बाबजूद १० वटा विभिन्न साहित्यिक कार्यक्रम सम्पन्न गरेको जानकारी दिनु भयो ।

सोही अवसरमा महासंघको नेपाल शाखाबाट प्रकाशित साहित्य एक विधा अनेक कृति, लुम्विनी प्रदेश कमिटीबाट प्रकाशित लुम्विनी दर्पण र सरिता राई कन्दङ्वाबाट लिखित कथा संग्रह तिउरीको विमोचन प्रमुख अतिथि र विशिष्ठ अतिथिहरुले विमोचन गर्नु भएको थियो ।
उक्र कार्यक्रममा प्रा.डा. गोविन्द मान सिंह कार्कीले तिउरी कथा संग्रहको, सीता विष्ट कार्कीले लुम्विनी दर्पणको समीक्षा गनुै भएको थियो भने प्रा.डा.गार्गी शर्मा, केशु पोखरेल लगायतले बोल्नु भएको थियो ।

उद्घाटन सत्रमा महासंघ लुम्विनी प्रदेश कमिटीका सल्लाहकार पूर्ण लाल चुकेले लुम्विनी प्रदेश कमिटीको गतिविधि माथि प्रकाश पार्नु भएको थियो भने केन्द्रीय सदस्य ढुण्डीराज ढकालले स्वागत गीत गाउनु भएको थियो ।
सो अवसरमा महासंघ नेपाल शाखाका पूर्व अध्यक्ष तथा सल्लाहकार मणिराज सिंहलाई सम्मान गरिएको थियो । कार्यक्रममा चार दर्जन बढी साहित्यकारहरुको सहभागिता रहेको थियो ।
