
नेपालगन्ज, ७ बैशाख – मधेसी तथा मुस्लिम छात्राहरुलाई उच्च शिक्षाका लागि सहजता प्रदान गर्न नेपालगन्जमा महिला कलेज निर्माण गरिएको छ । नेपालगन्ज उप–महानगरपालिकाले निर्माण गरेको मङ्गलप्रसाद महिला कलेजको बुधबार उद्घाटन गरिएको छ ।

पुर्वाञ्चल बिश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर यादवराज कोइराला, नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, प्रदेश सांसद आईपी खरेलले बुधबार औपचारिक कार्यक्रमका बीचमा कलेजको उद्घाटन गर्नुभयो ।

कलेजको उद्घाटन गर्दै प्रा.डा. कोइरालाले पुर्वाञ्चल विश्व विद्यालयले निजी क्षेत्रबाट सञ्चालित मात्रै नभएर समुदायस्तरबाट सञ्चालित कलेजलाई पनि सम्बन्धन दिनका लागि प्राथमिकता दिने गरेको बताउनुभयो ।
नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले नेपालगन्जमा मधेसी र मुस्लिम समुदायको बाक्लो बसोबास रहेका कारण यहाँ छात्रा विद्यालय र कलेजको आवश्यकता महसुश गरिएको बताउनुभयो । कलेज आफैमा आत्मनिर्भर नभएसम्मका लागि नगरबाट आवश्यक सबै सहयोग प्राप्त हुने उहाँले बताउनुभयो । महिला विद्यालयपछि कलेज निर्माण गरिएको हो ।

कलेजका प्रमुख रविन्द्र कर्णले करिब आठ करोड रुपियाँको लागतमा उप–महानगरपालिकाले ४० कोठे भवन निर्माण गरेको जानकारी दिनुभयो । कम्प्युटर ल्याव सहितको १४ कोठे छात्राबास समेत रहेको छ । मधेसी र मुस्लिम छात्राहरुलाई लक्षित गरेपनि सबै समुदायका महिलाहरुले कलेजमा अध्ययन गर्नेछन् । कलेजले ब्यवस्थापन सङ्कायमा बिबिए र बिबिएस, कानून सङ्कायमा ५ वर्षे बिएएलएलबी, शिक्षा सङ्कायमा ४ वर्षे विएड र विज्ञानतर्फ ४ वर्षे विसिए र बिआईटी कक्षा सञ्चालनका लागि पुर्वाञ्चल विश्व विद्यालयमा सम्बन्धनको प्रक्रिया सुरु गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले विज्ञ टोली बनाएर दुई वर्षसम्म विस्तृत अध्ययन गरेर महिला कलेज सञ्चालनका लागि अघि बढेको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो । चालु आवमा कलेजको सम्बन्धन सञ्चालनका लागि उपमहानगरपालिकाले करिब डेढ करोड रुपियाँ वजेट विनियोजन गरेको छ ।
