
नेपालगन्ज, २५ चैत्र – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ स्थित रहेको गुरुद्वारा श्री गुरुनानक सिंह सभाले ३२३ औं खाल्सा साजन दिवस २०७९ बैशाखी पर्वको लख लख बधाई तथा शुभकामना दिंदै चौथो महानगर परिक्रमा गर्ने भएको छ ।

गुरुनानक सिंह सभाका अध्यक्ष राजेन्द्र सिंह सरदरले दिएको जानकारी अनुसार बैशाखी कै दिन गुरुहरुद्वारा सरदारलाई ५ पहिचान दिई उक्त धर्मको शुभारम्भ गरिएको थियो । सोही बैशाखी पर्वलाई हामीले भब्य रुपमा मनाउने तथा बाँके जिल्लाको नेपालगन्जमा समेत सिख्ख समुदाय (सरदार)हरुको बसोबास रहेको जानकारी दिने उद्देश्यका साथ नेपालगन्ज नगर परिक्रममा गराईने बताउनुभयो ।
सोही अनुसार बैशाखी पर्व कै अवसरमा बैशाख २ गते गुरुद्वारा मै भब्य भण्डारको आयोजना समेत गरिने गुरुद्वारा सञ्चालक समितिका कोषाध्यक्ष सरदार जोगिन्द्रसिंह सरदारले जानकारी गराउनुभयो ।

कोषाध्यक्ष सरदार जोगिन्द्रसिंहका अनुसार भारतको पन्जाबबाट गटका पार्टी मार्सल आर्टका टीम समेत नेपालगन्ज आउने भएको छन् । सोही अनुसार बैशाख ३ गतेसम्म भण्डारी जारी रहने छ भने बिहान गुरुद्वाराबाट बिपि चौक हुँदै धम्बोझी, सेतुविक चौक, न्यूरोड, त्रिवेणी मोड, त्रिभुवन चौक, रानीतलाऊ हुँदै पुनः गुरुद्वारा पुगि नगर परिक्रमा विर्सजन गरिने कोषाध्यक्ष सिंहले बताउनुभयो ।

आज सम्पन्न पत्रकार सम्मेलनमा गुरुद्वाराका कोषाध्यक्ष सरदार जोगिन्द्र सिंह, सचिव अमरजित सिंह, सदस्यलगायत गुरुद्वारा सम्बन्धित सरदारहरुको सहभागिता रहनु भएका साथै भारत तथा नेपालका विभिन्न मिडियामा आबद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।
