
सकिल अहमद राई
नेपालगनज, २२ चैत्र – जानकी गाउँपालिकाको वडा नं १ स्वास्थ्य शाखाले टाइफाइड रोग विरुद्धको खोप अभियानमा लक्षित उमेरका कोही पनि बालबालिका छुट्न नहुने कुरामा सबैलाई सचेत र जागरुक पार्ने कार्य गरिरहेको छ ।
सो क्रममा जानकी १ को स्वास्थ्य चौकीले मंगलबार गाउँका अगुवा समाजसेवीहरुसँग अन्तरक्रिया गरेर उक्त सम्बन्धमा प्चार प्रसार गरेर सहयोग गरिदिन आग्रह गरेको छ ।
सो अवसरमा जानकी १ मा २ हजार २ सय ९५ जना बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने जानकी १ साइगाउँ कार्यालयका स्वास्थ्य चौकी इन्चार्ज विष्णुबहादुर बोहराले बताउनुभयो । सो अभियान २३ चैतदेखि २८ गतेसम्म सञ्चालन गर्ने जानकारी पनि उहाँले दिनुभयो ।
टाइफाइड संक्रमण सबै उमेर समूहमा हुने तर १५ वर्ष मुनिका बालबालिकामा करिब ११ गुणा बढी संक्रमण भएको पाइएको छ । पाटन एकेडेमी फर हेल्थ साइन्सले गरेको एक अध्ययन अनुसार, प्रति १ लाख जनसंख्यामा एक हजार ६२ मा टाइफाइड संक्रमण भएको र १५ वर्ष मुनिका प्रति १ लाख जनसंख्यामा १० हजार ९६० व्यक्तिलाई टाइफाइड संक्रमण भएको पाइएको छ ।
त्यसैगरी कार्यक्रममा उपस्थित वडा अध्यक्ष मो. रजा राई, वडा सदस्य हाउसी लाल काँदु, अनिता धोबी, समाज सेवी, बुद्ध जिविहरुको सहभागिता रहेको थियो ।
