
खजुरा, १० चैत – बाँकेको खजुरा गाउँपालिकामा ग्रीन सिटीको पाइलट प्रोजेक्टका लागि कृषि तथा पशुपालन कृषकलाई अनलाइन तालिम शुरु भएको छ । कोभिडका कारण ढिलाई भएको उक्त कार्यक्रम अन्तरगत कृषि र पशुपालन गर्ने खजुराका ३० जना किसानलाई अनलाइन तालिम दिन थालिएको हो । थोरै लगानीबाट धेरै उत्पादन गरी फाइदा लिने र दीगोपनाका लागि तालिम फलदायी हुने बताइएको छ ।
व्यवस्थित खजुराका लागि कुन मोडालिटीमा जाने भन्ने विषयमा ग्रीन सिटीका लागि उज्वेगस्तानको राजधानी तास्केन्टमा युनाइटेड नेशन अफ साउथ साउथ कर्पोरेशन अध्यक्ष किस्मतकुमार कक्षपति वीच सम्झौता पश्चात युयानको टोलीले खजुराको स्थलगत अवलोकन गरिसकेको छ भने खजुरा गाउँपालिका किसान अगुवा र नार्कका वैज्ञानिकलगायतको टोली चीनको युसी सिटीमा त्यहाँको खेती प्रणालीको अवलोकन गरी अनुभवन आदान प्रदान गरिसकिएको छ ।

त्यसपश्चात पहिलो चरणमा खजुराका कृषि र पशुपालनमा आवद्ध किसानलाई तालिम दिन लागिएको अध्यक्ष कक्षपतिले जानकारी दिए । कृषितर्फ प्याज र टमाटर खेती र पशुपालनतर्फ बंगुर र कुखुरा पालनका लागि कृषकलाई तालिम दिन लागिएको हो । ३ दिन कृषि र ४ दिन पशुपालनसम्बन्धी तालिम संचालन हुनेछ । कृषितर्फ खजुरा गाउँपालिका कृषि शाखा प्रमुख पुनम पोख्रेल, प्रकाश सापकोटा र पशुपालनतर्फ पशुसेवा शाखाका प्राविधिक बुद्धि थापाले तालिमको सहजीकरण गर्ने छन् ।
खजुरा गाउँपालिका प्रमुख कक्षपतिले ग्रीन सिटीको प्रोजेक्ट कुनै पनि हालतमा लागू भएरै छोड्ने बताउँदै खजुरामा पाइलट प्रोजेक्ट सफल भएपछि बाँकेका अन्य पालिकामा पनि लागु गर्नका लागि आफुले सम्बन्धित निकाय सामु कुरा राखेको बताए । उनले खजुरालाई विश्वमा चिनाउन ग्रीन सिटीले सहयोग गर्ने भन्दै व्यवस्थित तथा दीगोपनाका लागि कार्यक्रम सफल बनाउन आग्रह गरे ।

कार्यक्रममा खजुरा गाउँपालिका वडा नं. ४ का अध्यक्ष तिलकवीर सुनारले समाज विकासका लागि जोसुकैको सरकार भए पनि हातेमालो गरेर अगाडि बढ्ने परिपाटीको विकास गर्नु पर्ने बताए । उनले खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिका कारण खजुरामा ग्रीन सिटीको प्रोजेक्ट आएको बताए ।
ग्रीन सिटी कै पाइलट प्रोजेक्ट अन्तरगत अनुभवन लिनका लागि चीन भ्रमण गरिसकेका खजुराका अगुवा कृषक गेहेन्द्र धितालले परम्परागत खेती प्रणालीबाट रुपान्तरण हुँदै कृषि र पशुपालनबाट खजुराको दीगोपना खोज्नु पर्ने बताए । ग्रीन सिटी प्रोजेक्टका विश्व खाद्य संगठन चाइना, युनाइटेड नेशन अफ साउथ साउथ कर्पोरेशन एग्रिकल्चर चाइना, युएनडिपी नेपाल, एफइसिसी लगायतका साझेदार संस्था रहेका छन् ।

यसैगरी खजुरा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अन्तरगत विभिन्न समूहमा आवद्ध महिलाहरुले अब सहकारीको बाटोमा अग्रसर हुन थालेका छन् । खजुराका ३ हजार महिलालाई सहकारीमा आवद्ध गर्दै उनीहरुको आर्थिक, समाजिक रुपमान्तरण गरिन लागिएको छ ।
यही अभियान अन्तरगत खजुरा वडा नं. ८ र ७ का महिलाहरुलाई सहकारीमा आवद्ध गराउँदा हुने फाइदाका बारेमा जानकारी दिइएको छ । व्यवसाय विकासका लागि उत्पादन सामाग्री मल, बीउ, प्राविधिक सेवा, खोप जुकाको औषधी, वित्तीय सेवा बचत ऋण र बिमा, संस्थागत गरिने, बजाजीकरण गर्न मार्केट सेन्टरको खोजी लगायतका थुप्रै फाइदाका लागि समूहका महिलालाई सहकारी जोड्न लागिएको हो ।
खजुरा गाउँपालिकामा रहेका २ वटा सामाजिक उद्यमी महिला सहकारीमा उनीहरुलाई आवद्ध गराई व्यवसाय विकासमा अग्रसर गराउने कार्यक्रम उद्देश्य रहेको जनाइको छ । खजुरा वडा नं. ७ मा भएको कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले ३ वर्षे परियोजनामा करीब ४ करोड लागत रहेको बताए ।

उनले संघको २५ वर्षे र प्रदेशको २० वर्षे आवधिक योजनामा टेकेर खजुराले तय गरेको १५ वर्षभित्र खजुरालाई समृद्ध बनाउने सपना यो कार्यक्रमले टेवा पु¥याउने उल्लेख गरे । उनले प्राविधिक सहयोग हेफर र साझेदार इन्रुडेक रहेको यो कार्यक्रममा पहिलो वर्ष ४० जना युवालाई ४० हजार टोकन मनी दिएर रोजगारमुलक व्यवासयमा लगाएको बताए । पहिलो वर्ष समूह गठन, बाख्रा वितरण कुखुरा वितरण गर्दै बाख्रा उपहार गर्दै आएका महिलाहरु अब सहकारीमा आवद्ध भएर अगाडि बढ्नु पर्ने बताए ।
उनले जनप्रतिनिधिले गरेको ५ वर्षको कामको मूल्यांकन गर्ने बेला आएको बताउँदै सकारात्मक सोचका साथ अगाडि बढ्नु पर्ने बताए । इन्रुडेकका अध्यक्ष धर्मलाल रोकाय, हेफर इन्टरनेशनलका कार्यक्रम अधिकृत शरद पोख्रेललगायतले आर्थिक र सामाजिक रुपान्तरणका लागि समूह हुँदै सहकारीमा महिलालाई आवद्ध गराउन लागिएको जानकारी दिए । कार्यक्रममा खजुरा गाउँपालिका कार्यपालिका सदस्य सितादेवि गुरुङ, सदस्य पूर्णिमा सुनार, झलाराम राढलगायतको सहभागिता रहेको छ ।
लालीगुराँस समूह र चाँदनी समूहले हालसम्म समूहले गरेको प्रगति विवरण प्रस्तुत गर्दै मासिक बचत, पसल र कुखुरा पालन तालिम, बाख्रा बिउ बोका, गहुँको बीउ निम्न बर्ग सदस्यलाई रासन बितरण गरेको जानकारी दिए । यो कार्यक्रम वडा नं. ८ मा कार्यवाहक अध्यक्ष मुढैइ साँइको पनि आजै संचालन भएको थियो ।
