Sunday, May 3सत्यम खबर
Shadow

आठौं सगरमाथा सिमेन्ट पिएमकप तयारी पुरा

नेपालगन्ज, ९ चैत्र – आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्रीकप आमन्त्रण महिला भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । बुधबार नेपालगन्ज रंगशाला स्थित सचिवालयमा आयोजित पत्रकार भेटघाटमा पिएम कपका संस्थापक अध्यक्ष टीएस ठकुरीले सबै तयारी पुरा भएको जानकारी गराए ।
नेपाल भलिबल संघको स्वीकृतिमा हुने प्रधानमन्त्री कप चैत १० देखि १४ गतेसम्म नेपालगन्ज रंगशाला स्थित कभर्ड हलमा हुँदैछ । विगतका बर्षहरुमा भन्दा यसपटक कोरोना महामारीका कारण केही समय ढिला हुन गएको आयोजकले जनाएको छ । ‘प्रधानमन्त्री कप भलिबल प्रतियोगितालाई नेपालगन्ज (बाँके)को चिनारीको रुपमा विकास गर्ने हाम्रो प्रयास हो ।’ मुल आयोजक समिति संयोजक लुम्बिनी प्रदेश सदस्य कृष्णा केसी नमुनाले भनिन्– ‘दक्षिण एशिया कै नम्बर एक क्लब च्याम्पियन सीपका रुपमा प्रधानमन्त्री कपलाई स्थापित गराउने हाम्रो लक्ष्य रहेको छ ।’


प्रतियोगितामा आयोजक सहित नेपालका शीर्ष चार र भारतका दुई टिमको सहभागिता रहनेछ । लिगकम नकआउट प्रणालीमा सञ्चालन हुने यस प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड एकेडेमी, आयोजक लुम्बिनी युनाइटेड, भारतको छत्तीसगढ स्पोर्ट्स एकेडेमी (महाराष्ट्र) र हरियाना स्पोर्ट्स क्लब रहेका छन् । सम्पुर्ण खेलाडीको आवास तथा भोजन कोहलपुर स्थित पाँच तारे होटल सेन्ट्रल प्लाजामा व्यवस्थापन गरिएको छ ।
खेलाडीको बसोबास कोहलपुर तथा खेल सञ्चालन नेपालगन्जमा हुँदा पुरानो सहर नेपालगन्ज र उदाउँदो सहर कोहलपुरलाई भावनात्मक एकतामा जोड्ने अपेक्षा गरिएको अध्यक्ष ठकुरीले बताए । ‘यसले महानगरको परिकल्पनालाई साकार पार्ने हाम्रो सोच हो ।’ उनले भने ।
प्रतियोगितामा आवश्यक पोशाक युक्यान ब्रान्डको आधिकारिक बिक्रेता सिटिएलले उपलब्ध गराएको छ । आयोजक टिम लुम्बिनी युनाइटेडका लागि लिनिङ ब्राण्डको जर्सी सेट र युक्यान ट्रयाकसुट रहेको छ । पत्रकार भेटघाटमा प्रदेश सभा सदस्य कृष्णा केसी नमुना, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, रुपैडिहा पत्रकार संघका अध्यक्ष शेरसिंह कसौधन, भलिबलका पुर्व अन्तर्राष्ट्रिय रेफ्री अजितकुमार शर्मा, नेपाली राष्ट्रिय टिमका पुर्व खेलाडी राकेशकुमार श्रीवास्तव, राखेप पुर्व निर्देशक जयन्तकुमार शर्मा, लुम्बिनी खेलकुद परिषदका सदस्य नरेन्द्र थापा, नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य कृष्ण श्रेष्ठले पिएम कपको टिसर्ट सार्वजनिक गरे । आजै पिएमकप भलिबलको वेभसाइट धधध।ऊअगउखयििभथदबिि।अयm पनि लन्च गरिएको छ । यस प्रतियोगितालाई आईक्यासले डिजिटल पेमेन्ट पार्टनरका रुपमा रहेको छ ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद, लुम्बिनी प्रदेश सरकार, युएनडिपी, नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, राप्ती सोनारी गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका, जानकी गाउँपालिका, बैजनाथ गाउँपालिका सदा झैं सहयोगी रहेका छन् । नेपाल टेलिकम, नेपाल पर्यटन बोर्ड, क्युएफएक्स बागेश्वरी सिनेमा, दराज, दैनिक नेपालगन्ज, मिठो छ ट्रिट, फन्की क्याफे, नेपाली सेनाको भैरवप्रसाद गण, क्रियटिभ ह्याण्ड्स, द हिडेन ट्रेजर लगायत संघ संस्था छन् ।
मिस नेपाल नम्रता श्रेष्ठा यस प्रतियोगिताको सदभावना दुत रहेको यहाँहरुलाई अवगत नै छ । युवातथा खेलकुद मन्त्रीमा. महेश्वर गहतराज अथकले यस प्रतियोगिताको उद्घाटन गर्नुु हुनेछ । समापनमा प्रदेश सरकार तथा राष्ट्रिय खेलकुद परिषदका कामु सदस्य सचिव कुलबहादुर थापालगायत बिशिष्ट व्यक्तित्वको उपस्थिति रहनेछ । प्रदेश सांसद मा. कृष्णा केसी नमुनाको संयोजकत्वमा नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा सहसंयोजक तथा अन्य पालिका उपप्रमुखहरु उपसंयोजक रहने गरी काम अघि बढाइएको छ । हरेक दिन दुई खेल सञ्चालन गरिनेछ । पहिलो दिन नेपाल पुलिस विरुद्ध त्रिभुवन आर्मी क्लबले खेल्नेछ भने अर्को खेल न्यु डायमन्ड एकेडेमी विरुद्ध आयोजक टिम लुम्बिनी युनाइटेड हुनेछ । खेल सुरु १२ बजे हुनेछ ।
नेपाली भलिबलको सर्वाधिक धनराशीको पुरस्कार रहेको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *