Sunday, April 12सत्यम खबर
Shadow

त्रिभुवनचोकमा स्थापित प्रतिमासँग उच्छृंखलता कसैले देखाउनु भएन

मितिः२०७८ फागुन १६ गते
शुभम् शर्मा
नेपालगन्जको मुटु त्रिभुवन चोकमा १६ वर्षपछि पुनः एक पटक राष्ट्रपिता स्व. श्री ५ त्रिभुवन वीर विक्रम शाहदेव सरकारको प्रतिमा स्थापित गरिएको छ । स्व. राजाको प्रतिमा स्थापना गरिएपछि यहाँ केही विवादको स्थिति सिर्जना भएको छ । यस विवादको कारण हो २०६२–०६३ को जनआन्दोलन भाग–२ को समयमा केही उच्छृंखल तत्वहरुले सो प्रतिमालाई तोडफोड गरे यसरी त्यहाँ वर्षौंसम्म कुनै प्रतिमा रहेन ।


मधेश आन्दोलन चल्ने क्रममा कमल गिरी, गुल्जार खाँ शहीद बने अनि त्रिभुवन चोकमा शहीद कमल गिरी र वीरेन्द्र चोकमा गुल्जार खाँको प्रतिमा स्थापना हुनुपर्ने माग हुन शुरु भयो । यस समयाकालमा कैयन व्यक्ति नेगउमनपाका नगर प्रमुख बने तर उनीहरुले वीरेन्द्र चोक र त्रिभुवन चोकमा कुनै शहीद वा महापुरुषको प्रतिमा स्थापित गर्ने चासो लिएनन् । पालिकामा विगत समय राजनीतिक दलहरुको बैठक बस्दा त्रिभुवन चोक सम्बन्धमा केही सहमतिहरु भएको थियो जसमा विवाद कायम रहँदा समयसम्म नेपालको राष्ट्रिय झण्डा लगाई राख्ने सहमति भएको थियो । तर गतहप्ता राजावादी र हिन्दुवादी समूहले सो राष्ट्रिय झण्डाको स्थानमा राष्ट्रपिता स्व. त्रिभुवन सरकारको प्रतिमा स्थापित गरे जसको कारण त्रिभुवन चोक एक पटक पुनः विवादित बन्न पुगेको छ । प्रतिमाको स्थापना गरिएपछि केही असन्तुष्टहरु सो प्रतिमा हटाउने माग लिएर जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाएका थिए । अहिले ती असन्तुष्टहरुले प्रतिमा स्थानीय प्रशासनले हटाएन भने हामी आफै त्यहाँ पुगेर भत्काउँछौं भन्ने प्रकारको अभिव्यक्ति सार्वजनिक गरिएकोले यहाँ एक किसिमको आपसी वैमनस्यताको स्थिति बन्न पुगेको छ ।
स्व. राजाहरु राष्ट्रिय एकता र हिन्दु एकताका प्रतिक हुन् यस कारण यहाँका नगरवासी राजसंस्थाप्रति अगाध माया र आस्था राखेका छन् । यो प्रतिमालाई सहमति अनुसार खोलियो भने आपसी सौहार्दपन कायम रहन्छ तर प्रतिमालाई कसैले भत्काए भने साम्प्रदायिक एकतामा नै खलल पुग्ने अवश्यम्भावी छ । यस्तो उच्छृंखलता अब कसैले गरेर देखाउनु हुँदैन शाहवंशका विभिन्न राजाहरुले राष्ट्र एकीकरणदेखि लिएर यसको विकासको लागि जुन प्रकारले कार्यहरु गरे यसलाई देशको कुनै नागरिकले बिर्सन सक्दैन ।
यस कारण अब भिडन्तको स्थिति होइन साम्प्रदायिक सौहार्दपनको स्थिति यहाँ बन्नुपर्छ । अहिले केही यस्ता मौकापरस्त राजनीतिक दलहरु छन् जुनकि यहाँ साम्प्रदायिक भावना भड्काई राजनीतिक फाईदा लिने प्रयासमा जुटेका छन् यिनीहरुको यस्तो कलुषित मानसिकताको अब भण्डाफोर सबै तर्फबाट हुनु पर्छ । नेपालगन्ज एक ऐतिहासिक शहर हो यस कारण अब ऐतिहासिक अवशेषहरुलाई मेटाउनेतर्फ होइन यसको संरक्षण संवद्र्धन गर्नेतर्फ सम्पूर्ण नगरवासीको ध्यान जानुपर्छ । यो नगर धेरै नै विस्तृत बनी सकेको छ यस कारण यहाँ तमाम चोकहरु निर्माण गर्ने पर्याप्त सम्भावनाहरु छ । कमल गिरी, गुल्जार खाँ लगायत मधेशका शहीद हुनु हुन्थ्यो यस कारण उहाँहरुको चिर स्मरणको लागि नगरको कुनै चोकमा प्रतिमा अवश्य लाग्नुपर्छ तर त्रिभुवन चोकलाई नै सधैं विवादित बनाई राख्नु राम्रो कुरा होइन । यस चोकलाई कसैले पनि प्रतिष्ठाको विषय बनाउनु पनि हुँदैन नेपालगञ्ज उमनपामा तमाम यस्ता टोल र सडकहरु छन् जसको नामहरुको कुनै चौचित्य छैन तसर्थ अब त्यस्ता औचित्यहीन नामको सडक र टोलको नाम परिवर्तन गरि त्यस्तो स्थानको नाम महापुरुषहरुको नाममा राख्नु जरुरी छ यही नै समयको माग पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *