Wednesday, September 24सत्यम खबर
Shadow

चीन, रूस र अक्सफोर्डले बनाइरहेका भ्याक्सिनको तेस्रो चरणको परीक्षण नेपालमा पनि गर्ने तयारी

नेपालगन्ज, ८ भाद्र – कोरोना भारइस विरूद्धका खोपको नेपालमा पनि अनुसन्धान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रकृया सुरु गरेको छ । परिषद्का सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलबाट स्वीकृति लिएर अनुसन्धान प्रकृया अगाडि बढाइएको जानकारी दिए ।

तस्वीरः गुगल


उनले पछिल्लो समय कोभिड–१९ विरुद्ध विश्वमा क्लिनिकल ट्रायलको चरणमा रहेका विभिन्न भ्याक्सिनहरूको नेपालमा पनि अनुसन्धान गर्न परिषद्ले नेतृत्व लिएको बताए ।
‘चीन, रसिया र बेलायतको अक्सफोर्ड भ्याक्सिन ग्रुपले उत्पादन गरेका भ्याक्सिनहरू नेपालमा पनि तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न कम्पनीहरू इच्छुक भएको र प्रकृया पनि अगाडि बढाएको छ,’ ज्ञवालीले भने । उनले चीनको ‘होङ्सी ग्रुप’ पनि नेपालमा भ्याक्सिनको क्लिनिकल ट्रायल गर्न इच्छुक रहेको बताए ।

ज्ञवालीले भने, ‘उहाँहरुले पनि एक हजार जनामा क्लिनिकल ट्रायल गर्न इच्छा देखाउनु भएको छ । तर हामी त्यसलाई अध्ययन गरेर अनुमति दिने कुरा टुंगो गर्छौं ।’ अन्य कम्पनीहरू पनि क्लिनिकल ट्रायलका लागि आउनसक्ने भन्दै त्यसका लागि आवश्यक मापदण्ड हेरेर अनुमति प्रदान गर्ने परिषद्को तयारी छ ।

ज्ञवाली भन्छन्, ‘कम्पनीहरू इच्छुक हुनु भएन भने पनि परिषद्ले नै क्लिनिकल ट्रायललगायत अनुसन्धान अगाडि बढाउँछ ।’ उनले त्यसका लागि अक्सफोर्ड ग्रुपसँग प्रारम्भिक कुराकानी पनि भएको बताए ।
‘हामीले विश्व स्वास्थ्य संगठनमार्फत अक्सफोर्डसँग पनि कुरा गरेका छौं । यो साता ठोस कुरा थाहा हुन्छ’ उनले भने, ‘उहाँहरूले अनुसन्धानको लागि भनेर खोप उपलब्ध गराउने वा नेपालले खरिद गर्नुपर्ने कुरा चाहिँ टुंगो लागेको छैन ।’ उनले सम्बन्धित दूतावासमार्फत चीन र रूससँग पनि खोपका लागि कुरा भइरहेको जनाए ।
रूसले कोरोनाविरुद्धको खोप चाँडै नै बजारमा आउने दाबी गरेको छ । यीबाहेक अन्य शक्ति राष्ट्रहरूसमेत कोरोनाविरुद्धको खोप बनाउन दिनरात लागिरहेका छन् । भारतले पनि कोरोनाविरुद्धको खोपको क्लिनिकल ट्रायल गरिरहेको छ ।
नेपालमा भने यो खोप कति जनामा परीक्षण गर्ने भन्ने टुंगो भएको छैन । त्यसका लागि परिषद्ले दुईवटा डिजाइनमा काम गरिरहेको छ । ज्ञवाली भन्छन्, ‘कतिजना व्यक्तिलाई खोप दिने भन्ने टुंगो छैन । तर परिषद्ले दुईवटा डिजाइनमा काम गरिरहेको छ । अब खोप आएपछि डिजाइन कै आधारमा प्रयोग हुन्छ ।’
पछिल्लो समय परिषद्ले कोरोना संक्रमितको उपचारमा ‘रेम्डेसिभिर’ औषधीको प्रभावकारिताबारे पनि अनुसन्धान गरिरहेको छ । ज्ञवालीले केही दिनमै संक्रमितको उपचारमा रेम्डेसिभिरको प्रयोग गर्न लागिएको बताए । उनले अनुसन्धान कै चरणमा रहेकाले सुरूमा यो तोकिएका अस्पताल र चिकित्सकको प्रत्यक्ष निगरानीमा मात्र संक्रमितको उपचारमा प्रयोग गर्न पाइने जनाए ।
साथै प्रयोगपछि संक्रमितमा देखिएको क्लिनिकल सुधार र नकारात्मक असरबारे परिषद् र स्वास्थ्य मन्त्रालयलाई समेत जानकारी गराउनुपर्ने भनिएको छ । यो औषधीले कोरोना संक्रमितको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने विभिन्न अध्ययनले देखाएको छ ।
जसका कारण संक्रमितको अस्पताल बसाइ कम हुने भनिएको छ । कोरोना संक्रमणसँग लडिरहेका विभिन्न मुलुकहरूले यसको प्रयोग गरिरहेको छ । भारतमा पनि यसको प्रयोग गरिएको र त्यसमा सकारात्मक सुधार देखिएको बताइएको छ ।
बेलायती पत्रिका द गार्डियनले राखेको ट्रयाकअनुसार अहिलेसम्म विभिन्न देशका १ सय ८५ वटा भ्याक्सिन विभिन्न चरणमा रहेका छन् । तीमध्ये १३८ वटा प्रि–क्लिनिकल चरण छन् भने २५ वटा पहिलो फेजमा छन्, १५ वटाको दोस्रो चरणको परीक्षण भइरहेको छ भने ७ वटा तेस्रो चरणको परीक्षणमा छन् । अहिलेसम्म संसारका कुनै पनि देशले यी सबै चरण पार गरेर भ्याक्सिन स्वीकृत गरिसकेका छैनन् । रूसले भने तेस्रो चरणको परीक्षणबिनै आफ्नो भ्याक्सिनलाई स्वीकृत गरिदिएको छ । सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *