
नेपालगन्ज, २ माघ – नेपालगन्ज उप–महानगरपालिकाको १० औं नगरसभा आईतबार सम्पन्न भएको छ ।
नगरसभाले भू–उपयोग र जग्गा ब्यवस्थापनलाई ब्यवस्थित,, बैज्ञानिक र पारदर्शी बनाउने उद्देश्यका साथ भू–उपयोग ऐन संशोधन सहित पारित गरेको छ । नेपालगन्न उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरका अनुसार नगरसभाले नगर सञ्चार नीति–२०७८ पनि संशोधन सहित पारित गरेको छ ।
नगरसभाले नेपालगन्ज उपमहानगरपालिका र वडा कार्यालयहरुको आर्थिक विवरण र रकमान्तरण गर्ने निर्णय गरेको छ । नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख डा. धवलशम्शेर राणाले आफुहरुको कार्यकाल सफल भएको बताउनुभयो ।
कार्यपालिकामा चारवटा पार्टीको प्रतिनिधित्व भएपनि सहमतिका आधारमा निर्णय हुने गरेको स्मरण गर्दै उहाँले ५ बर्षे कार्यकाललाई सुनौलो समयको रुपमा लिनुपर्ने बताउनुभयो ।
उहाँले विकास कार्य निरन्तर चल्ने भन्दै चालु आवका कार्यक्रम छिटो भन्दा छिटो सम्पन्न गर्न जनप्रतिनिधी र कर्मचारीहरुमा आग्रह गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन नगर कार्यपालिकाका प्रबक्ता वडा अध्यक्ष प्रमोद रिजालले गर्नुभएको थियो ।
