
– मनोज कुमार कौशल
नेपालगन्ज, २० पौष – सम्पूर्ण विश्वमा साम्प्रदायिक सौहार्द बढाउन मुस्लिम शिया समुदायले अभियान चलाएको छ । नेपालगन्जमा यसै अभियन अन्तर्गत अन्तर्राष्ट्रिय बहुधार्मिक गोष्ठीको आयोजना गरिएको छ ।
शनिवार दिन इस्लामिक सेन्टर अफ द वल्र्ड फेडरेशन इन नेपाल र नेपाल मुस्लिम महिला समाज नेपालगन्ज बाँकेले आयोजना गरेको अन्तर्राष्ट्रिय बहुधार्मिक गोष्ठीले हजरत ए फातिमा रजि. ले देखाउनु भएको सम्पूर्ण मानवताको आदर्शको उपदेशमा हिँड्न प्रेरित गर्न यस गोष्ठीबाट प्रयास गरिएको छ ।

यस बहुधार्मिक गोष्ठी कार्यक्रममा बौद्ध धर्मका धर्मगुरु गुन बहादुर लामा, मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरी, इस्लामी विद्वान सैयद मेहँदी मुत्तवी, बागेश्वरी मन्दिरका मठाधीश चन्द्रनाथ योगी, इस्लामिक विद्वान मिर्जा याकूब अब्बास, इसाई धर्मगुरु डम्मर थापा, सिख धर्मगुरु ग्रन्थी सोहन जी प्रमुख अतिथि रहनु भएको थियो ।
त्यस्तै अतिथिमा हैदर गोण्डवी, सुआ उत्तरौलवी, फैज कौशई, कासिम गोडवी, सरफ उत्तरौलवी, सबिह मेरठी, तिलावतमा कादरी शगीर अहमद खान, राशिद राही बहराइची, इस्लामिक विद्वान डा. जैनुल आबेदिन सोही प्रकार अतिथिमा हाजी अब्दुल हमीद सिद्दीकी, कदीर अन्सारी, मुस्लिम अगुवा युवा नेता मेराज हलवाई हिमालय, सैयद हाजी मोइन, मुस्लिम धर्मगुरु मौलाना अन्सुर आरफी, मुस्लिम वक्ता हसिना बोहरी लगायतको सहभागिता थियो ।
यस कार्यक्रममा भारतको बहराईच, लखनऊ लगायतबाट अतिथिहरुको सहभागिता रहेको थियो भने नेपालस्थित ईरान राजदूतावासका प्रमुख अधिकारीको सहभागिता रहेको कुरा जानकारीमा आएको छ । नेपालगन्जमा आयोजत भएको यो बहुधार्मिक गोष्ठी कार्यक्रम हजरते फातिमा जहरा रजि. को जीवनीमाथि विभिन्न इस्लामिक विद्वान र वक्ताहरुले प्रकाश पार्नु भएको थियो ।
नेपालको राष्ट्रिय गानपछि शुरुआत भएको यस कार्यक्रममा प्रायः सबै धर्मका धर्मगुरुहरुले मानवता नै पहिलो धर्म हो यो सन्देश दिइने प्रयास गरेका थिए । हजरते फातिमा रजि. इस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहम्मद स. की छोरी थिइन् । उहाँलाई विभिन्न उपनामले पनि चिनिन्छ । जसमध्ये उहाँलाई जहरा बतूल नामले पनि चिनिन्छ । हजरत मोहम्मद स. को हरेक बौद्धिक र धार्मिक कार्यहरुमा छोरी हजरते फातिमा जहराको सहभागिता रहने गरेको वर्णन इस्लामी ग्रन्थहरुमा उल्लेख रहेको पाइन्छ ।
उहाँको आमाको नाम हजरत खतीजा रहेको समेत वर्णन पाइन्छ । पैगम्बर हजरत मोहम्मद स. कुरैश समाजको हुनुहुन्थ्यो यस कारण कुरैश समाजमा सबै भन्दा बढी भद्र महिलाको रुपमा फातिमा जहरालाई चिनिन्छ । उहाँले इस्लाम धर्मको प्रचार प्रसारमा आफ्नो सम्पूर्ण चल अचल सम्पत्ति लगाउनु भएको थियो ।
हजरते फातिमाको जन्म कुर्आन अवतरणको ५औं वर्षमा अरबी क्यालेन्डर अनुसार २० जमादुस्सानी शुक्रवारका दिन साउदी अरबको मक्का शहरमा भएको थियो । उहाँ ५ वर्षकी हुँदा नै आमाको मृत्यु भएको र यसबीच बुवाबाट उहाँको पालनपोषण भएको थियो । उहाँको बिहे हजरते अली रजि. सँग भएको थियो । हजरते अली इस्लामी शासनका प्रख्यात खलिफा हुनुहुन्थ्यो । हजरते फातिमा आमा, बुवा र इस्लामी खलीफाहरुसँग प्राप्त गरेको तालिमलाई वैवाहिक र ग्राहस्थ जीवनमा उतार्दै त्यसको व्यवहारिक तर्जुमा गर्नुभयो र अधिकार प्राप्तिको लागि संघर्ष गर्नुपर्ने प्रेरणा महिला समुदायलाई दिनुभयो ।
हजरते फातिमाको असल सोचबाट महिलालाई आडम्बरमुक्त रहने र अश्लील भेषभुषा परित्याग गर्ने प्रेरणा मुस्लिम समुदायकी महिलालाई दिनुभयो । उहाँको घरनजिकै मस्जिद रहे पनि कहिल्यै त्यहाँ पुग्नुभएन तर मस्जिदमा स्वयं नपुगेपनि आफ्नो छोरा हजरते इमाम हसन अलै.लाई जाने प्रेरणा दिनुभयो ।
इस्लामी ग्रन्थ हदीसहरुमा हजरते फातिमा रजि. लाई स्वर्गकी महिलाहरुको प्रमुख रहेको उल्लेख रहेको पाइन्छ । हजरते फातिमा जहरा रजि. को ५ औं सन्तान रहेकोउल्लेख पाइन्छ जसमध्ये ३ वटा छोरा र २ वटा छोरी थिइन् । बिहेपछि मात्र ९ वर्षसम्म उहाँ जीवित रहनु भयो । इस्लाम धर्ममा हजरते अली र हजरते फातिमाको नाम बडो श्रद्धाले लिइने गरिन्छ ।
हजरते अलीले इस्लाम धर्मलाई शान्तिको प्रतिकको रुपमा स्थापित गर्नु भएको थियो जसको कारण हजरते अली इस्लाम धर्ममा एक बडो चर्चित व्यक्तित्व हुनुहुन्थ्यो । दशकौंदेखि सम्पूर्ण विश्वम अशान्तिको वातावरण बनेकोले अहिले विश्वमा शान्तिको वातावरण बनाउन हजरते अलीको सन्देश सर्वत्र फैलाउने अभियान छेडिएको छ त्यस्तै महिलालाई बराबरीको हक अधिकार दिलाउन हजरते फातिमाको शान्तिको सन्देश फैलाउने कार्य अघि बढाइएको छ ।
नेपालगन्जमा आयोजित यस बहुधार्मिक गोष्ठीमा हजरते फातिमाको जीवन परिचयमाथि अधिकांश वक्ताहरुले आ–आफ्नो विचार प्रस्तुत गर्नु भएको थियो । यस कार्यक्रमलाई सफल बनाउन नेपालञ्जका सुन्नी मुस्लिम समुदायको समेत ठूलो सहयोग रहेको देखियो ।
यो गोष्ठी कार्यक्रम नेपाल र भारतका शिया मुस्लिम समुदायको अथक प्रयास र नेपालगन्जमा रहेका हिन्दु, मुस्लिम, बौद्ध, इसाई लगायतको सहयोगमा भएको बुझिएको छ । नेपालगन्जमा रहेका शिया समुदायका मुस्लिमहरुले केही महिनाअघि रक्तदान कार्यक्रमको आयोजन गरि चर्चित बन्न पुगेका थिए ।
