
नेपालगन्ज, २३ मंसिर – १६ दिने महिला हिंसा विरुद्वको अभियान अन्तर्गत अनेमसंघले कानुनी प्रशिक्षण र सम्मान कार्यक्रम गरेर अभियान मनाएकाे छ । अनेमसंघले “घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं” भन्ने मूल नाराका साथ अखिल नेपाल महिला संघले १६ दिने महिला हिंसा विरुद्वको अभियान मनाएको छ ।
अखिल नेपाल महिला संघको सरोकार, सामाजिक सुरक्षा मर्यादित रोजगार सम्पुर्ण क्षेत्रमा समान अधिकार भन्ने अनेमसंघको नाराका साथ मनाइएको अभियानमा नेकपा एमालेको १०औं महाधिबेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित मो.हारुन, शान्ति ढकाल, दिपा शर्मा, पशुपति दयाल मिश्र र लेखा सदस्य विजया धिताललाई अनेमसंघ जिल्ला अध्यक्ष भगवति बरालले खादा ओढाएर सम्मान गर्नु भएकाे थियाे ।
कार्यक्रममा पुर्वमन्त्री आरती पौडेलले सबै महिलाले हिंसा खेप्नु परेको बताउँदै समय र कामलाई आफुले नै व्यवस्थापन गरी काम गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य दिपा शर्माले धन भएका र नभएका सबै महिला हिंसामा परेको बताउँदै पार्टीले महिलालाई आरक्षण एक पटक दियो भने अर्को पटक पनि त्यहि महिला आरक्षण कोटामा नभइ आफ्नो क्षमता विकास गरी प्रतिस्पर्धामा आउनु पर्ने बताउनु भयो । कार्यक्रममा केद्रिय सदस्य पशुपतिदयाल मिश्रले आफुले महिलालाई पार्टीमा समेटने प्रतिवद्धता गर्नु भयो ।
नेकपा एमाले केन्द्रिय सदस्य मो.हारुनले महिला अध्ययनशील हुनुपर्ने भन्दा महिलाका सवालमा अनेमसंघका महिला बोल्नु पर्ने बताउनु भयो ।
नेकपा एमाले केन्द्रिय लेखा सदस्य विजया धितालले राजनीति गर्ने महिलाले संविधान, कानुन र अनेमसंंघको उद्देश्यका बारेमा जानकार हुनुपर्ने बताउनु भयो । अनेमसंघ जिल्ला सचिवालय सदस्य मिना ढकालद्वारा सञ्चालन गरीएको कार्यक्रममा अधिवक्ता सुनिता ज्ञवालीले कानुनमा भएका महिला अधिकारका बारेमा प्रशिक्षण दिएकी थिइन ।
इन्सेकको आर्थिक सहयोग र अनेमसंघ जिल्लाको आयोजनामा सञ्चालित कार्यक्रममा ६ दर्जन बढि महिला पुरुषको सहभागिता रहेको थियो । महिला अधिकार र कानुनी प्रावधान सम्बन्धि अन्तरक्रिया कार्यक्रममा कानुनी प्रशिक्षण र सम्मान कार्यक्रम राखीएको थियो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले महिला हिंसा अन्त्य घरबाट नै शुरु गर्नु पर्ने बताएका थिए ।

नेकपा एमाले केन्द्रिय सदस्य तथा अनेमसंघ सचिवालय सदस्य शान्ति ढकालले महिला राजनीतिमा आउन पैसा र घर परिवारको सहयोग दुवै आवश्यक पर्ने बताउदै विगतको तुलनामा अहिले स्थानिय निकायमा ४० प्रतिशत र प्रदेशमा ३३ प्रतिशत महिला सहभागी हुनु पनि उपलब्धि मान्नु पर्ने बताउनुभयो ।
प्रमुख अथिति समेत रहेकी ढकालले हाल नेकपा एमालेले केन्द्रिय कमिटिमा ३३ प्रतिशत महिला सहभागी गराएको जानकारी गराउनु भयो । कार्यक्रममा अनेमसंघका केन्द्रिय सदस्यहरु भारति खनाल, अछरी पोखरेल, सरस्वती शर्मा, सरु मल्ल प्रदेश सदस्य इता शर्मा, क्षेत्रका हिरा खराल, अनिता थापा लगायतको उपस्थिति रहेको थियो ।
