Wednesday, April 22सत्यम खबर
Shadow

वर्तमान बजेट संरचनाले खेल क्षेत्रको विकास सम्भव छैन : खेलकुद मन्त्री अथक

काठमाण्डौं, ७ मंसिर – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले हाल विद्यमान बजेट संरचनाले खेल क्षेत्रको विकास सम्भव नभएको बताउनुभएको छ ।

सोमबार अन्तर्राष्ट्रिय पदक बिजेता खेलाडी र राष्ट्रिय टिमका खेलाडी बिच भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले बजेटमा खेल क्षेत्रलाई उपेक्षा गरीएको बताउनु भएको हो । युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा मन्त्रालय कै सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले मन्त्रालयको स्तर उकास्न अपरिहार्य रहेको बताउनु भयो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई पहिचान गराउने खेलाडी र समग्र खेल क्षेत्रका लागि राज्यले न्युन मात्रामा बजेटको ब्यवस्था गरेको प्रति असन्तुष्टि ब्यक्त गर्दै अथकले बजेटको दायरालाई फराकिलो बनाउनुपर्ने बताउनुभएको हो ।

खेल क्षेत्र मै आफ्नो उर्जावान समय बिताएका खेलाडीहरुलाई राज्यले उचित ब्यवस्थापन गर्न नसकेको उल्लेख गर्दै मन्त्री अथकले भन्नुभयो, “राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पदक जित्न सफल हालसम्मका सबै खेलाडीहरुको उचित ब्यवस्थापनका लागि गहन छलफल गरीरहेका छौं ।” खेलाडीहरुले खेल क्षेत्र मै जिवन देख्ने वातावरण तयार गर्न मनोबल, खेल पुर्वाधारको विकास तथा खेलाडीहरुको ब्यवस्थापनमा राज्य गम्भीर हुनुपर्नेमा मन्त्री अथकले जोड दिनुभएको छ ।

आफुले मन्त्रालय सम्हाले लगत्तै खेलाडीहरुको ब्यवस्थापनका लागि बिभिन्न चरणमा छलफल चलाएको उल्लेख गर्दै खेल क्षेत्रको विकासका लागि निजि क्षेत्रको लगानी बढाउन राज्यले विश्वासको वातावरण सृजना गर्नुपर्ने उहाँको भनाई थियो । विभागिय टिमले नेपालमा खेलाडी उत्पादन तथा संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै मन्त्री अथकले प्रशंसा समेत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले मन्त्रालयले सक्षम नेतृत्व पाएकाले खेल क्षेत्रको उल्लेखनिय विकास हुनेमा आफु विश्वस्त रहेको उल्लेख गनुभयो । नयाँ खेलाडी उत्पादन तथा पुराना खेलाडीहरुको ब्यवस्थापनमा विभागिय टिमको भुमिका प्रशंसायोग्य रहेको उल्लेख गर्दै डा. रेग्मीले आगामी दिनमा समेत त्यस प्रकारका गतिविधिहरुलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

५० बढि खेलाडीहरुको सहभागीता रहेको कार्यक्रममा विभागिय टिम ( नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाल आर्मि) तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले हालसम्म गरेका खेलकुद गतिविधि र उपलब्धिहरुका बारेमा रिपोर्टिङ गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *