
नेपालगन्ज, १७ कार्तिक – नेपालगन्जस्थित राँझा विमानस्थल भित्रको झाडी सफाई गरिएको छ । विमानस्थल परिसरमा रहेको झाडीका कारण रनवेमा जनावर आउने क्रम बढेपछि जिल्ला प्रहरी कार्यालय बाँकेको सक्रियतामा बुधबार झाडी फाँडीएको छ ।

मंगलबार बिहान नेपालगन्ज विमानस्थलको धावनमार्गमा विमानले बँदेलको हुललाई किचेको थियो । हुम्लाको सिमिकोटका लागि उड्ने क्रममा ९ एनएएचबी कल साइनको जहाज धावनमार्गमा गुडिरहेका बेला बँदेलको हुललाई किचेको थियो । दुर्घटनामा ३ वटा बँदेल मरेपनि बिमानभित्रका यात्रुलाई भने केही भएको थिएन ।

यस अघि बुद्ध एयर र एति एयरको जहाजमा बँदेल ठोक्किएको थियो । यसरी हाप्तै पिच्छे बिमानमा बँदेल ठोक्किन थालेपछि जिल्ला प्रहरी कार्यालय बाँकेको सक्रियतामा बुधबार धवनमार्ग वरिपरि रहेका झाडी सफाई गरिएको छ ।
जिप्रका बाँकेका प्रमुख प्रहरी उपरिक्षक श्यामकृण्ण अधिकारीको कमाण्डमा ३० जना प्रहरी, शसस्त्र प्रहरी बलबाट ४० जना र नेपाली सेनाबाट ९० जना गरी जम्मा १६० जनाको संयुक्त सुरक्षाकर्मीका टोलिले विमान परिसरमा रहेको झाडी सफाई गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

