
नेपालगन्ज, ३० श्रावण– भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सात सय नमूना परीक्षणमा बाँकेका ११ र बर्दियाका १२ गरी २३ जनामा भाइरस संक्रमण पुष्टि भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी गराउनु भएको छ ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेखी यसको पुष्टि गर्नुभएको हो ।
शुक्रबार बाँकेमा थप भएका संक्रमितसँगै कूल संक्रमितको संख्या ६ सय ९६ पुगेको छ । तीमध्ये अहिले सम्म ४ सय ३५ जना उपचारपछि घर फर्किसकेका छन् भने तीन जनाको मृत्यु भएको छ । यस्तै बर्दियामा शुक्रबार १२ जना थपिएसँगै संक्रमितको संख्या २ सय ८५ पुगेको छ । बर्दियामा २ सय ३२ जना निको भएर घर फर्किसकेका छन् ।
तर बिडम्बना नै भन्नु पर्दछ बाँकेका फोकल पर्सन नरेश बाबु श्रेष्ठलाई फोन गर्दा कहिले बाटोमा त कहिले फोन नै नउठाउने गरेको हुँदा समयमा कोभिड–१९ को तथ्यांक सार्वजनिक हुन नसकेको अवस्था रहेको पाईन्छ । सम्बन्धित पक्षको यसतर्फ बेलामा ध्यान जानु अतिआवश्यक भएको छ, महामारीको समयमा सत्यतथ्य बाहिर ल्याउनु र आमजनमानस माझ पु¥याउनु सञ्चारको दायित्व हो, सोही कुराको विचार गरी समयमा सूचना प्रदान गर्न सक्ने फोकल पर्सनलाई जिम्मेवारी वहन गर्न आवश्यक रहेको पाईन्छ ।
