Tuesday, March 10सत्यम खबर
Shadow

देशभर ८ हजार २५ जना कोरोना संक्रमित

नेपालगन्ज, ३० श्रावण– (कोभिड–१९) कोरोना भाइरसको संक्रमणबाट देशभर बिहिवारसम्म हाल ८ हजार २५ जनामा सक्रिय संक्रमित रहेका छन् भने ९६ जना आइसियु र भेन्टिलेटरमा रहेका छन् । महामारी फैलिदै जाने क्रमसँगै गम्भिर अवस्थाका बिरामीहरुको चाप बढ्दै गएको छ ।


स्वास्थ्य मन्त्रालयका अनुसार विहिवारसम्म आइसियु र भेन्टिलेटरमा रहेका विरामीको संख्या ९६ छ । जसमध्ये ५ जनाको भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ । आइसियुमा उपचार गरिरहेका ९१ जनामध्ये सबैभन्दा धेरै प्रदेश–२ मा ४३ जना छन् । बागमतिमा ३८, प्रदेश–५ मा ९ र गण्डकी प्रदेशमा १ जना छन् । ४ सय ४१ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हाल ९ सय ४२ आइसियु र ४ सय ९६ भेन्टिलेटर रहेका छन् । गम्भिर प्रकृतिका बिरामीहरु राख्नका लागि अहिलेसम्म आइसियु र भेन्टिलेटर रहेको मन्त्रालयको तथ्यांकले देखाएको छ । प्रदेश–१ मा ४३, प्रदेश–२ मा ४५, बागमतिमा ६ सय ३०, गण्डकी प्रदेशमा १ सय ३७, प्रदेश–५ मा २९, कर्णाली प्रदेशमा ४० र सुदूरपश्चिम प्रदेशमा १८ आइसियु रहेका छन् ।
यस्तै, प्रदेश–१ मा १९, प्रदेश–२ मा १७, बागमतिमा ३६१, गण्डकी प्रदेशमा ५९, प्रदेश–५ मा १३, कर्णाली प्रदेशमा १७ र सुदूरपश्चिम प्रदेशमा १० भेन्टिलेटर कोरोना संक्रमितका लागि छुट्टाइएको छ । जसमध्ये बागमतिमा मात्रै हाल ५ जना भेन्टिलेटरमा रहेका छन् ।
सरकारी तथ्यांकअनुसार विहिवारसम्म कोरोनाका कारण ९५ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २९ साउनसम्म कुल ९५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यीमध्ये ६० वर्षदेखि माथी उमेर समूहका ३६ जना रहेका छन् । ३६ जनामध्ये २० जना ७० देखि ८५ वर्षका छन् भने बाँकी १६ जना ६० देखि ६९ वर्ष उमेरका छन् ।
कोरोना संक्रमणबाट मृत्यु हुनेहरूमा ४० वर्षदेखि ५९ वर्षसम्मका र ६० वर्षभन्दा माथिका उमेर समुहका व्यक्तिको संख्या उत्तिनै रहेको छ । विहिवार कोरोनाका कारण मृत्यु हुनेमा ४१ देखि ५९ वर्ष उमेर समूहका पनि ३६ जना रहेका हुन् । कोरोना संक्रमणका कारण सबैभन्दा धेरै ४१ वर्षदेखि माथि उमेरसमुहका ७२ जनाको ज्यान गएको छ ।
युवाअवस्थामा ज्यान गुमाउने संख्या पनि १० रहेको छ । यो उमेर समुहमा पनि दीर्घरोगी धेरै रहेका छन् । ३० देखि ४० वर्ष उमेर समूहका १० जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेमा २० देखि २९ वर्ष उमेरका ७ जना, १० देखि १९ वर्ष उमेरका ३ जना र १ देखि ९ वर्ष उमेरका २ जना छन् । यस्तै कोरोना संक्रमणका कारण ४९ दिने शिशुको समेत मृत्यु भएको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *