Monday, April 20सत्यम खबर
Shadow

मेडिकल कलेजका कर्मचारीको माग पुरा नहुने: व्यवस्थापन पक्ष

नेपालगन्ज, ४ कार्तिक – नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन पक्षले कर्मचारीले तलबभत्ता वृद्धिसहितको माग तत्काल सम्वोधन गर्न नसकिने बताएका छन् ।

नेपालगन्ज मेडिकल कलेजकाे व्यवस्थापन पक्षले विहीबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी काेभिड-१९ काेराेना कालमा आर्थिक संकटले गुज्रेको अवस्थामा अस्पताललाई थप आर्थिक व्ययभार थुपार्ने गरी कुनै पनि माग पूरा गर्न नसकिने जनाएका छन् ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडियाले कोरोना महामारी तथा कलेजमा विद्यार्थी संख्या कटौती भएका कारण विगत दुई वर्षदेखि निरन्तर रूपमा अस्पताल घाटामा चलिरहेकाेले आर्थिक व्ययभार थप्ने गरी कर्मचारीको माग सम्वोधन गर्न नसकिने बताएका छन् ।

कोभिड-१९ का कारण मेडिकल कलेजमा ०७६/७७ मा एकजना पनि विद्यार्थी भर्ना भएनन् । ०७७/०७८ मा झन विद्यार्थी भर्नाको टुंगो नै लागेकाे छैन् । जसले गर्दा संस्था घाटामा गइरहेको जानकारी हुँदाहुँदै पनि तलबभत्ता बढाउनु पर्यो भनेर कर्मचारीद्वारा आन्दोलन गर्नु उचित नहुने बताएका छन् ।

आन्दाेलतरत कर्मचारी मागका बिषयमा पटक पटक बार्ता भएको स्मरण गर्दै व्यवस्थापन पक्षबाट वार्ता टोलीका संयोजक रहेका कलेजका उपनिर्देशक श्यामकुमार शर्माले कर्मचारीको आन्दोलन अर्थहीन भएको दाबी गरेका छन् ।

अस्पतालका सहायक निर्देशक डा. नितेशकुमार कनोडियाले पछिल्लो पाँच वर्षदेखि अस्पतालको आर्थिक अवस्था कमजोर हुँदै गएको बताउँदै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुरमा बिरामीको चाप घट्दै गएकाेले समेत आर्थिक रुपमा अस्पताल कमजोर हुँदै गएको बताएका छन् ।

तलव वृद्धि, भत्तालगायतका विभिन्न सात बुँदे माग राखेर गएको कार्तिक १ गतेदेखि कर्मचारीहरु आन्दोलनरत रह्का छन् । उनीहरुले आकास्मिक बाहेक अन्य सबै सेवा ठप्प पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *