
नेपालगन्ज, २९ श्रावण– बुधवार बिहान १ बजेदेखि जारी भएको भारी बर्षाका कारण बाँकेको अधिकांश स्थान डुवान हुने खतरा बढेको छ । भारी बर्षाका कारण नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ र ७ को अधिकांश टोल डुवानमा परेको छ । भारी बर्षाका कारण नेपालगन्ज वडा नं. ६ को फुल्टेक्रा गाउँभित्र, रामनगर, नयाँबस्ती, शितलनगर, हुलाकी राजमार्ग छेउ बस्ती, वडा नं. ७ को गगनगंज, रानीतलाउ नजिकका टोल डुवानमा परेका छन् ।

उक्त स्थानहरुमा वडा तथा उपमहानगरपालिकामार्फत खटाईएका ईन्जिनियरहरुको लापरवाही प्रष्ट देखिएको स्थानीयहरुको गुनासो रहेको छ । स्थानीयहरुको भनाई अनुसार रामनगरको बाटो बनाउने ठेकेदारले कमसल सामान प्रयोग गर्दा ईन्जिनियरले के हेरी बसेका थिए, हामीले जानकारी गराए पनि वास्ता नगरेका कारणले गर्दा नै आज हाम्रो घर डुबानमा गर्न गएको बताउँछन् ।

रामनगर बाटोमा धेरै जसो घरमा पानीको जमाव रहेको तथा उक्त पानी घरबाहिर निकाल्न मोटरपम्प प्रयोग गरी बिहिबार बिहानैदेखि पानी निकाल्ने कार्य जारी रहेको पाईन्छ । कारण एउटै रहेको छ नाली पूर्ण रुपमा सफाई नगरिएको तथा नाली बनाउँदा माथि लगाउने ढक्कन समेतको बांस, पट्रा, पन्नी ननिकालिएको अवस्थामा यहां निरीक्षणमा रहेका ईन्जिनियरहरु के हेरी रकम फच्र्यौट गरेका छन् ।

तस्वीर : सत्यमखबर
जनताको भावनालाई बुझी मात्र स्थानीय स्तरमा विकास निर्माणका कार्यहरु हुनुपर्ने हो तर यहा“ उपमहानगरपालिकामार्फत नाक्सांकन गरी, ईन्जिनियरले हावाको घरमा बजेट बनाई ठेक्का दिई ठेकेदारले के कसरी काम गरेको अवस्था हो सो बारे समेत कुनै चासो नदिई बिल पास गर्ने बानी अबदेखि समाप्त नगरे जनभावना अनुसार विकास कार्यले गति कहिले नलिने रामनगरबासीहरु बताउँछन् ।

केही महिना अगाडी मात्र रामनगर हडियाबाबा मार्ग पश्चिम छेउमा लक्ष्मी बस्नेतको घरदेखि रोहित चन्दको घरसम्म नाला निर्माण दिपेन्द्र पाठकको अध्यक्षमा गठित उपभोक्ता समितिमार्फत गरिएको थियो । उक्त निर्माण गरिएको नालाको पानी छेउमा घरहरु भित्र पसेपछि स्थानीयहरुले आवाज उठाएका छन् । स्थानीयहरुको भनाई अनुसार नालाको पानी उल्टो बग्ने अवस्था रहेकै कारण हाम्रो घरभित्र पानी पसेको पाईन्छ, नाला पास गर्नु अगाडी ईन्जिनियर र अनुगमनकर्ताहरुले आँखामा छारो हाली बस्ने भएकै कारण आज यस्तो अवस्था आएको बताउँछन् ।

उक्त नालाको बजेट करीब ५ लाख रहेको थियो । सो नालाको सम्पूर्ण कार्य अनुगमनदेखि पास गर्नेसम्मको जिम्मेवारी बहन गरेका ईन्जिनियर किशोरलाई मोबाईल मार्फत सम्पर्क गर्दा उनी हाल आईसुलेट रहेको हुँदा यस बारे वडा अध्यक्षसित जानकारी लिनुस् भनी गैरजिम्मेवारीपूर्ण जवाफ दिनुभयो । जनताको प्रश्न छ, सबै काम वडाअध्यक्ष कै भरमा हुने भए अन्य कर्मचारीको आवश्यकता के ?
उपमहानगरपालिका र वडाको लापरवाहीले गर्दा नै नेपालगन्ज नगरी डुवान भएको नेपालगन्जवासीहरुले आरोप लगाउँछन् । एकातिर विभिन्न स्थानमा समय मै बाटो, नाला, नाली निर्माण नहँुदा डुवानबाट समस्या झेल्न परेको छ भने अर्कोतर्फ सरसफाई गर्दा समेत लापरवाही गरी गरिएको कार्यले गर्दा नाला र नालीको पानी पूर्ण रुपमा नबगेको कारणले आज यो अवस्था आएको आरोप लगाउँछन् ।

बुधबार रातभर बर्षाका कारण बाँकेको राप्ती नदि र डुडुवा खोलाको सतह बढ्ने भएको हुनाले सचेत रहन जिल्ला प्रशासन कार्यालय बाँकेले आग्रह गरिसकेको छ । बुधबार बिहानपख बाँकेको कुसुम, नेपालगन्ज, कोहलपुर, खजुरा, नौवस्ता लगायत धरै स्थानमा अतिभारी बर्षा मापन गरिएकाले डुवानको सम्भावना रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाइ सकेको छ ।
स्थानिय मानखोला, डुडुवाखोलाका साथै राप्ती नदिको जलसतह बढ्ने र अकस्मात बाढि आउने देखिएकाले जिल्लावासीलाई सचेत रहन प्रशासनले आग्रह गरेको छ ।
डुवानको खतरा बढ्ने सम्भावना रहेको हुनाले आफुलाई पायक पर्ने ठाउँमा रहन बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी गराउनुभयो । बुधवारको बर्षाका कारण नेपालगन्जको धम्बोझी, वेलासपुर, भृकुटीनगर, घरवारीटोल लगायतका अधिकांश स्थानका घरमा पानी भरेको पाईन्छ ।
