Thursday, November 21सत्यम खबर
Shadow

पैसा थुप्रिएपछि घर किन्नेलाई सस्तो ब्याजदरमा ऋण दिन बैंकहरूको प्रतिस्पर्धा, कुन बैंकको ब्याजदर कति, के के चाहिन्छ कागजात ?

नेपालगन्ज, २९ श्रावण– पैसा थुप्रिएपछि घर किन्नेलाई बैंकबीच सस्तो ब्याजदरको अफर ल्याउने प्रतिस्पर्धा चलेको छ । पर्याप्त तरलता भएकाले पछिल्लो समयमा अधिकांश बैंकको आधार दर घट्दै जाँदा ब्याजदर सस्तिएको नविल बैंककी रिटेल लेन्डिङ प्रमुख चाँदनी श्रेष्ठले जानकारी दिइन् ।


‘ग्राहकसँग हामीले लिने ब्याजदर आधार दरमा भर पर्छ, अहिले पर्याप्त तरलता भएकाले आधार दर घट्दै गएको छ, त्यसकारण केही वर्ष नै ब्याजदर नबढ्न सक्छ’ उनले भनिन् ।
कोरोनाको प्रभावपछि ठूला उद्योग व्यवसायमा ऋणको पर्याप्त माग हुन सकिरहेको छैन । जसले गर्दा बैंकबाट प्रवाह हुने ऋणमा कमी आएको छ । यसले बैंकमै पैसा थुप्रिएको छ ।
अधिकांश बैंकले एक वर्षसम्म ग्राहकसँग ब्याजदर नबढाउने प्रतिवद्धतासमेत जनाएका छन् ।
हालै निक्षेपमा ब्याजदर घटाएर बैंकले नयाँ घर, गाडी किन्न सस्तो ब्याजको अफर ल्याउन थालेका हुन् । घर र गाडीमा बैंकबीच सस्तो ब्याजदरमा ऋण दिने प्रतिस्पर्धा नै देखिएको छ ।
एभरेष्ट बैंकले सस्तो ब्याजदरमा १ करोड ५० लाख रुपैयाँसम्मको हाउजिङ लोन योजना ल्याएको छ । यस योजनामा बैंकले आधार दरमा जम्मा ०.२ प्रतिशतदेखि २ प्रतिशतसम्मको ब्याजमात्रै लिने जनाएको छ ।

असार मसान्तसम्म बैंकको आधार दर जम्मा ८.०५ प्रतिशतमात्रै छ । यसअनुसार हाउजिङ लोन लिनेले जम्मा ८.२५ देखि १० प्रतिशतको बीचमै ऋण पाउने छन् ।
त्यस्तै गाडी कर्जाका लागि पनि बैंकले आधार दरमा जम्मा १.५ प्रतिशत मात्रै ब्याज लिने भएको छ । असार मसान्तसम्मको आधार दरअनुसार साढे ९ प्रतिशतमा बैंकले गाडी कर्जा दिनेछ ।
त्यस्तै हिमालयन बैंकले घर र गाडी किन्न चाहनेलाई ८.४९ प्रतिशत ब्याजदरमै ऋण दिने भएको छ ।
सनराइज बैंकले ८.९५ प्रतिशतको ब्याजमा घर किन्न कर्जा दिनेगरी योजना ल्याएको छ । बैंकले घर किन्न ४० वर्षसम्मको अवधिका लागि यस्तो कर्जा योजना ल्याएको हो ।
एनआइसी एसिया बैंकले ८. २५ प्रतिशतमै घर र गाडी कर्जा दिने योजना ल्याएको छ। ग्लोबल आइएमई बैंकको ग्लोबल घर कर्जाअन्तर्गत सेवाग्राहीले २५ वर्षसम्मको अवधिका लागि ८.७५ प्रतिशत ब्याजदरमा घर कर्जा लिन पाउनेछन् र यो कर्जाको ब्याजदर १ वर्षसम्म स्थिर रहने बैंकले जनाएको छ ।


यसैगरी बैंकले ८.९९ प्रतिशतमा गाडी कर्जा दिने योजना ल्याएको छ ।
नविल बैंकले वार्षिकोत्सवको अवसरमा सीमित अवधिको लागि भन्दै ७.९९ प्रतिशत ब्याजदरमै घर किन्न कर्जा दिने योजना ल्याएको छ । सानिमा बैंकले १ वर्षसम्म ब्याज नबढ्ने गरी सवारी कर्जा योजना ल्याएको छ ।
सिद्धार्थ बैंकले १ वर्षसम्म ब्याज नबढ्ने गरी घरकर्जा योजना ल्याएको छ । यसको ब्याजदर ९.२५ प्रतिशत छ । त्यस्तै नेपाल बैंकले ७.९९ प्रतिशतमा घर किन्न र नयाँ घर बनाउन कर्जा दिने योजना ल्याएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले ७.२५ प्रतिशत ब्याजमा घर कर्जा दिने योजना सार्वजनिक गरेको छ ।
यी मात्रै होइन, अधिकांश बैंकले घर र गाडी कर्जाको ब्याजदर एकल अंक (बढीमा ९.९) प्रतिशतमा झारेका छन् ।
घरजग्गा कर्जाका लागि के–के चाहिन्छ कागजात ?
बैंकबाट घर, जग्गाको ऋण लिनेले सोको कागजपत्र धितो राख्नुपर्छ। यदि जग्गा छ भने जग्गाको लालपूर्जा र चार किल्ला प्रमाणित कागज चाहिन्छ ।
त्यस्तै जग्गाको नक्सा प्रिन्ट भने बैंकले नै निकालिदिने गरेका छन् ।
यसबाट ऋणीलाई नापी वा मालपोत कार्यालय गइरहनु पर्ने झन्झट रहन्न भने वास्तविक जग्गाको एकिन गर्न बैंकहरूलाई पनि मद्दत पुग्छ ।
त्यस्तै बनेको घर किन्नका लागि जग्गाको लालपूर्जासहित घरको नक्सापास, इजाजत पत्र, निर्माण सम्पन्नको कागजात पनि चाहिन्छ । ऋणीले आफ्नो आम्दानीको स्रोत खुल्ने प्रमाणित कागज पनि बैंकमा बुझाउनुपर्छ ।
ऋण लिनका लागि ती कागजात बैंकमा बुझाएपछि बैंकले मूल्यांकनकर्ता (भ्यालुएटर) लाई प्रदान गर्दछन् । भ्यालुएटरले सोका आधारमा घर वा जग्गा एकीन गर्दछ, त्यसको मूल्य पनि निर्धारण गर्दछ, सोही निर्धारित मूल्यबाट नै बैंकबाट पाइने उच्चतम ऋण तय हुन्छ ।
‘त्यसपछि ग्राहकले सो बराबरको ऋणका लागि प्रक्रिया अगाडि बढाउन स्वीकृति दिएपछि प्रक्रिया अघि बढ्छ’ रिटेल, लेन्डिङ प्रमुख श्रेष्ठले भनिन् । उनका अनुसार प्रक्रिया अघि बढेको ३–४ दिनमै ऋण स्वीकृत हुनेरनहुनेबारे निर्णय दिइने छ ।
भ्यालुएटरको टिमले सरकारले तोकेको र चलनचल्तीको दर दुबैलाई मूल्याङ्कन गरी मूल्य निर्धारण गर्छ । यसमा पनि चलनचल्तीको मूल्यलाई बढी ध्यान दिने गरिएको छ । चलनचल्तीको मूल्यलाई ५० देखि ७० प्रतिशत र सरकारी दरलाई ३० देखि ५० प्रतिशतको हाराहारीमा मूल्याङ्कन गरी भ्यालुएटरले समग्र मूल्य निर्धारण गर्ने गरेका छन् ।
भ्यालुएटरले तय गरेको मूल्यमा ६० प्रतिशतसम्म र पहिलो पटक घर वा जग्गा किन्नेलाई बैंकले ७० प्रतिशतसम्म ऋण प्रदान गर्दै आएका छन् ।
कति लाग्छ सेवा शुल्क ?
क वर्गका बैंकले जति ऋण दिने हो सोको ० दशमलव ७५ प्रतिशतभन्दा बढी प्रशासनिक शुल्क लिन पाउँदैनन् ।
अर्थात १ करोड रुपैयाँ ऋण लिनेबाट क वर्गका बैंकले प्रशासनिक शुल्कवापत् ७५ हजार रुपैयाँभन्दा बढी रकम लिन पाउँदैनन् । तर बैंकले सोभन्दा तल यस्तो शुल्क लिन सक्नेछन् । यो त भयो बैंकहरूले लिने सेवा शुल्क ।
अब घर वा जग्गाको मूल्यांकन लागि खटिने भ्यालुएटरले लिने सेवा शुल्क पनि ऋणीले नै तिर्नु पर्दछ । त्यस्तै मालपोतमा घर वा जग्गा रोक्काका लागि लाग्ने शुल्क ऋणीले तिर्नुपर्छ । कर्जा सूचना केन्द्रमा पनि सामान्य शुल्क लाग्ने गर्दछ । स्रोतः सेतापाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *