Tuesday, April 21सत्यम खबर
Shadow

खर्च पारदर्शीतालाई लिएर बोर्ड बैठक मै हानाहान

नेपालगन्ज, ११ असोज – खर्च पारदर्शीताको विषयलाई लिएर नेपालगन्ज उपमहानगरपालिकाको बोर्ड बैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यबीचमा पानीको बोतल हानाहान भएको छ ।
कार्यपालिका सदस्यलाई उपमहानगरपालिकामार्फत खर्च गर्न दिइएको बजेट पारदर्शी रुपमा खर्च नभएको वडाध्यक्षहरुले गुनासो गरेपछि शुरु भएको विवादमा पानीको बोतलदेखि हात हालाहालसम्म हुन पुगेको बैठकमा सहभागी नाम नबताउने शर्तमा वडा अध्यक्षले जानकारी गराएका छन् ।
कार्यपालिका सदस्य र वडाध्यक्षबीचको पानीको बोतल हानाहानका बीच झगडा छुटाउन पुगेका वडा नम्बर ६ का अध्यक्ष समीरप्रताप सिंहको आँखामा गम्भिर चोट लागेको छ । डाक्टर कहाँ चेकजाँच गरी २४ घण्टा आराम गरी पुनः चेकजाँच गरिने वडाध्यक्ष सिंहले बताउनुभयो ।


यसअघिको बोर्ड बैठकले कार्यपालिका सदस्यले दलित, गरिब, विपन्न समुदायलाई १२ लाख रुपैयाँ खर्च गर्ने अख्तियारी दिएको थियो । उक्त बजेट पारदर्शी रुपमा खर्च नभएको वडा नं. ५ का अध्यक्ष कैफुलबराह जोलाहा र ७ नम्बरका अध्यक्ष जुम्मन खाँले उठाएपछि कार्यपालिका सदस्य देउमल सुनार प्रतिवादमा उत्रिएका थिए । सोही क्रममा कार्यपालिका सदस्य सुनार र वडाध्यक्ष जोलाहा बीचमा पानीको बोतलदेखि हात हानाहान भएको बोर्ड बैठकमा उपस्थित वडाअध्यक्षद्वारा जनाईएको छ ।
उनीहरुलाई छुट्याउने क्रममा वडा नं. ६ का अध्यक्ष सिंहको आँखामा गम्भिर चोट लागेको हो । नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले कार्यपालिका सदस्यलाई खर्च गर्न दिइएको रकमका विषयमा विवाद भएको जनाउनुभयो ।
प्रवक्ता रिजालले भने ‘कार्यपालिका सदस्यले आफूहरुसँग समन्वय नगरेर अपारदर्शी ढंगबाट बजेट खर्च गरेको भन्दै वडाध्यक्षले गुनासो गर्नुभयो । कार्यपालिका सदस्यहरुले पनि वडाध्यक्षले खर्च गर्दा पनि हामीसँग समन्वय गर्दैनन् भन्ने कुरा गरे । विवाद चर्कियो’, अगाडी थपे ‘यसैबीच कार्यपालिका सदस्य सुनार र वडाध्यक्ष जोलाहाका बीचमा हात हालाहाल भयो ।’
बोर्ड बैठकमा २३ वडा मध्ये २–३ वडाका वडाअध्यक्ष बाहेक मेयर धवलशमशेर राणा, उपमेयर उमा थापालगायत सबैको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *